Tuesday, September 10, 2013

धेरै सुत्नेहरू होसियार

निद्रा मानिसको स्वास्थ्यको लागि अत्यावश्यक छ । एक वयस्क मानिसका लागि औसतमा दिनको ८ घन्टा निद्रा आवश्यक पर्छ भनिन्छ । मानिस निदाउन सकेन भने बुझ्नुपर्छ उसमा केही स्वास्थ्य समस्या छ । र, लामो समयसम्म राम्ररी निदाउन पाएन भने पनि ऊ रोगी बन्छ भन्ने कुरा पक्का छ । त्यसैले स्वास्थ्यका लागि पर्याप्त निद्रा आवश्यक हुन्छ ।
तर, निद्रा फाइदाजनक हुन्छ भन्दैमा बढी सुत्नु पनि भएन । आवश्यकता भन्दा बढी सुतियो भने त्यो पनि प्रत्युत्पादक हुन्छ र स्वास्थ्यमा नकारात्मक असर पर्छ । बढी सुत्ने मानिसमा कस्ता कस्ता समस्या देखा पर्छन् त ?

मधुमेह – अध्यनले के देखाएको छ भने एक रातमा ९ घन्टाभन्दा बढी समय सुत्ने मानिसहरूमा मधुमेहको समस्या देखापर्ने खतरा ७ घन्टा सुत्ने मानिसमा भन्दा ५१ प्रतिशत बढी हुन्छ ।

मोटोपन – अध्ययन अनुसार एक रातमा ९ देखि ११ घन्टा सम्म सुत्ने मानिसमा ७ देखि ८ घन्टा सुत्ने मानिसमा भन्दा मोटोपनको समस्या देखापर्ने खतरा २१ प्रतिशत बढी हुन्छ ।

मुटुरोग – बढी सुत्ने मानिसमा मुटुरोगको समेत खतरा बढ्छ । अध्ययन अनुसार हरेक रात ९ घन्टाभन्दा बढी सुत्ने मानिसमा मुटुरोगको समस्या ३८ प्रतिशतले बढ्दछ ।

डिप्रेसन – बढी सुत्ने बानीले डिप्रेसनको समस्यालाई झनै बल्झाउँछ । डिप्रेसनलाई कम गर्न छरितो तथा नियमित निद्रा आवश्यक पर्छ ।

टाउको दुखाइ – बढी सुत्ने मानिसमा टाउको दुख्ने समस्या समेत देखापर्छ । बढी निद्राले गर्दा मस्तिष्कमा सेरोटोनिन भन्ने रसायनको असन्तुलन पैदा गर्छ जसको कारण टाउको दुख्छ ।

ढाड दुख्ने – बढी सुत्ने मानिसमा ढाड दुख्ने समस्याले समेत सताउँछ । बढी समयसम्म सुत्दा ढाडको भागमा बढी चाप पर्ने भएकाले रक्तनली तथा मांशपेसीमा हानी पुग्ने र ढाड दुख्ने समस्या देखापर्छ ।

यसका साथै आवश्यकताभन्दा बढी सुत्ने बानीले मानिसको अनुहारको छाला फुंग उडेको जस्तो देखिने, आलस्य बढाउने, आँखाको बाहिरी भाग सुन्निएको जस्तो देखिने तथा समग्रमा व्यक्तिको आयु छोट्याउने विज्ञहरू बताउँछन् ।

कति समय सुत्नु उपयुक्त ?
नवजात शिशु : दिनमा १८ घन्टासम्म
स्कुले केटाकेटी : १० देखि ११ घन्टासम्म
किशोरकिशोरी : ११ घन्टा
वयस्क : ७ देखि ८ घन्टा

No comments:

Post a Comment