Friday, September 6, 2013

असुरक्षित रंगशाला #Stadium #Football

  ** २१ फागुन २०६९ । एएफसी च्यालेन्ज कप २०१४ को छनोट प्रतियोगिता अन्तर्गत नेपाल र बंगलादेशबीच खेल भइरहँदा दर्शकदीर्घाबाट ब्याट्री र सिम निकालिएको मोबाइल र लाइटरले सहायक रेफ्रीमाथि प्रहार भयो । खेल केही बेर रोकियो ।

  ** २३ फागुन २०६९ । च्यालेन्ज कपको छनोट प्रतियोगिता अन्तर्गत नै नेपाल र प्यालेस्टाइनबीचको खेल सुरु हुनै लाग्दा 'फ्लड लाइट' निभ्यो । करिब आधा घन्टा दशरथ रंगशाला अन्धकारमय हुन पुग्यो । त्यही खेलपछि प्यालेस्टाइनका प्रशिक्षक जमाल महमुदले नेपाली समर्थकले आफ्ना केही खेलाडीलाई घाइते बनाएको गुनासो पोखे ।

 ** १६ कात्तिक २०६६ । एएफसी यू-१९ च्याम्पियनसिप छनोट अन्तर्गत नेपाल र जोर्डनबीच तनावपूर्ण वातावरणमा खेल भइरहेको थियो । खेल २-२ को बराबरीमा थियो । जोर्डनका दुई खेलाडी रातो कार्ड पाएर बाहिरिसकेका थिए । यद्यपि, अन्तिम समयमा जोर्डनले गोल थप्यो । दर्शकहरू उत्तेजित भए । प्यारापिटबाट हानिएको ढुंगा इरानी सहायक रेफ्री सकुदर हैदरलाई लाग्यो। उनी त्यहीँ ढले । टाउकोमा गहिरो चोट लागेका उनलाई तत्काल त्रिपुरेश्वरस्थित ब्लुक्रस नर्सिङ् होम पुर्‍याइयो ।



यी प्रतिनिधि घटनाले दशरथ रंगशालाको सुरक्षा व्यवस्थाप्रति गम्भीर प्रश्न उठाउँछन्। पछिल्लो समय नेपालमा उल्लेख्य संख्यामा अन्तर्राष्ट्रिय खेलहरू हुन थाले पनि रंगशालामा पूर्वाधार निर्माण तथा स्तरोन्नतिको कामचाहिँ भएको छैन। कतिसम्म भने विश्व फुटबल महासंघ (फिफा)ले लागू गरेको 'फिफा स्टेडियम सेफ्टी एन्ड सेक्युरिटी रेगुलेसन्स'का न्यूनतम मापदण्डसमेत पूरा गर्दैन, दशरथ रंगशालाले।

दशरथ रंगशालाको अत्यधिक दर्शक क्षमता १८ हजार हो। सुरक्षालाई मध्यनजर गर्दै फुटबल खेलका बेला अखिल नेपाल फुटबल संघ (एन्फा)ले अधिकतम १४ हजार टिकट बेच्छ। तर, यति धेरै मानिस एकै ठाउँमा जम्मा हुने बेला उनीहरूका गतिविधिमाथि ध्यान राख्न रंगशालाभित्र कुनै आधुनिक प्रविधि प्रयोगमा ल्याइएको छैन। रंगशालामा एउटै सीसीटीभी क्यामेरा छैन। अर्थात्, उच्छृंखल गतिविधिमा संलग्न हुनेलाई 'ट्रयाक' गर्न सकिँदैन।

रंगशालाको सुरक्षा जाँच कति फितलो छ भने अन्तर्राष्ट्रिय प्रतियोगिताका बेलासमेत मेटल डिटेक्टरजस्ता उपकरणको प्रयोग गरिन्न, हातैले छामछुम पारेर पठाइन्छ। जबकि, फिफा नियममा रंगशालामा मेटल डिटेक्टर गेट र टर्नेस्टाइल (आगन्तुकको संख्या गन्ने उपकरण) हुनुपर्ने स्पष्ट उल्लेख छ। एन्फाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) इन्द्रमान तुलाधर पनि रंगशाला प्रवेशअघि तीन चरणको चुस्त सुरक्षा जाँच हुनुपर्नेमा रंगशाला परसिरमा यथेष्ट स्थान अभावकै कारण सुरक्षा व्यवस्था मिलाउन गाह्रो परेको बताउँछन्।

खेल सञ्चालनका क्रममा हुने दर्शकको आक्रमणले खेल मात्र बिथोलिँदैन, एन्फाले जरिवानासमेत तिर्नुपर्छ। एएफसी यू-१९ च्याम्पियनसिपका बेला इरानी सहायक रेफ्रीमाथि आक्रमण भएपछि एसियाली फुटबल महासंघ (एएफसी)को अनुशासन कमिटीले एन्फालाई १५ हजार अमेरिकी डलर जरिवाना तिराउने निर्णय गरेको थियो। यसपालि मोबाइल र लाइटरले आक्रमण भएकै कारण एन्फाले कम्तीमा पाँच हजार डलर जरिवाना तिर्नुपर्ने तुलाधर बताउँछन्।

अझ गम्भीर कुरो त के भने अन्तर्राष्ट्रिय खेलका बेला विपक्षी खेलाडी तथा रेप|mीहरूमाथि सिक्काले अनगिन्ती प्रहार हुने गरेका छन्। खेलका दौरान रंगशालाभित्र बोतल, डटपेन, सिक्कालगायतका प्रहार गर्न मिल्ने वस्तु लैजान पाइँदैन। तर, चुस्त सुरक्षा व्यवस्थाको अभावमा त्यस्ता वस्तु भित्रिरहेका मात्र छैनन्, आक्रमणसमेत भइरहेका छन्। तुलाधर भन्छन्, "खेलपछि रंगशाला सफा गर्दा ७०-८० रुपियाँ त सिक्का नै जम्मा हुन्छ।"

फिफा नियम अनुसार हरेक खेलमा रंगशालामा स्टेवार्डहरूको उचित व्यवस्था गरिनुपर्छ। यस्ता स्टेवार्डहरूले स्टेडियमको व्यवस्थापन र दर्शक, भीआईपी/भीभीआईपी, खेलाडी, अफिसियल्सलगायतको सुरक्षामा सघाउने गर्छन्। प्रहरी वा सैनिकलाई समेत स्टेवार्डका रूपमा प्रयोग गर्न सकिने फिफाको नियम छ। तर, सबै स्टेवार्डले अनिवार्य रूपमा औपचारकि तालिम लिएकै हुनुपर्छ। यद्यपि, हामीकहाँ प्रतियोगिताका बेला प्रहरी र केही स्वयंसेवककै भरमा खेलका सुरक्षालगायत व्यवस्थापन हुन्छ। अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा स्टेवार्डहरूको एउटा पंक्ति दर्शकदीर्घापट्टि फर्किएर बसेका देखिन्छन्। उनीहरूले खेल नभई दर्शकलाई मात्र हेर्नुपर्ने फिफा नियम छ। यसबाट दर्शकका क्रियाकलापमा नजर त पुग्छ नै, उच्छृंखल क्रियाकलाप गर्नबाट हच्किन्छन्। तर, नेपालमा यस्तो अभ्यास सुरुआत नै हुन सकेको छैन। तुलाधरकै भनाइमा खर्च अभावमा व्यावसायिक स्टेवार्डहरूको व्यवस्था गर्न सकिएको छैन।

विशेष गरी रंगशालाका भर्‍याङ र करिडोरजस्ता दर्शक आवतजावत गररिहने क्षेत्र न्यूनतम आधी घन्टासम्म आगलागीलाई प्रतिरोध गर्न सक्ने हुनुपर्ने फिफाको पछिल्लो नियममा छ। तर, सम्भाव्य आगलागीको जोखिमलाई मूल्यांकन गरी सावधानीका उपाय दशरथ रंगशालामा अहिलेसम्म गरिएको छैन।

सामान्य अवस्थामा रंगशालाको एउटा गेट (एक्जिट प्वाइन्ट)बाट बढीमा १० मिनेटभित्र निश्चित क्षेत्रका पूरै दर्शक निस्कन सक्ने हुनुपर्छ। तर, तीन दशकभन्दा पुरानो पूर्वाधारमा कुनै सुधार नगरएिकाले करबि १४ हजारको भीड एकैपटक भागाभाग भएमा रंगशालाको प्यारापिटपट्टिका १२ वटा 'एक्जिट'मा अत्यधिक चापका कारण दुर्घटनाको जोखिम छ। नेपाल प्रहरीका प्रवक्ता डीआईजी केशव अधिकारी ठूलो संख्यामा मानिस उर्लने यस्ता खेलमा सुरक्षाको विशेष प्रबन्ध हुनुपर्ने बताउँछन्। भन्छन्, "रंगशालामा सुरक्षाका न्यूनतम पूर्वाधार त भएकै हुनुपर्छ।"

फुटबल रंगशाला मर्मत-सम्भारको सम्पूर्ण जिम्मेवारी एन्फाले लिएको छ। खेलहरूमा टिकट बिक्रीबाट उठेको रकम राष्ट्रिय खेलकुद परिषद (राखेप)ले पाउँदैन। एन्फा पदाधिकारीहरू स्टेडियमको जिम्मा आफूहरूले लिए पनि चाहिने अन्य भौतिक पूर्वाधार एन्फाले थप्न नसक्ने बताउँदै तर्कने गरेका छन्। अझ राखेपका पदाधिकारीको भनाइ त झन् रोचक छ। राखेपको सामान्य प्रशासन शाखाका प्रमुख सुरेश ढुंगाना भन्छन्, "धाराको टुटीसमेत हराइरहेको छ, महँगा उपकरण जडान गरे पनि सुरक्षा दिन सकिन्न।" रंगशालामा चहलपहल बढी हुने भएकाले खेलाडी र गैरखेलाडी छुट्याउन नसकिएको उनको भनाइ छ।

आउँदो ४ देखि १६ असोजसम्म यही मैदानमा १०औँ संस्करणको साफ फुटबल हुँदै छ। तर, त्यसका लागि भौतिक पूर्वाधारमा सुधार ल्याउने स्पष्ट खाका न त एन्फासँग छ, न राखेपसँग नै। एकातिर राखेप एन्फालाई रंगशाला सुम्पिएर ढुक्कले बसेको छ भने अर्कातिर एन्फा रंगशाला पूर्ण रूपमा आफ्नो नभएकाले सबै पूर्वाधार आफूहरूले मात्र थप गर्न नसक्ने बताउँछ। नेपाली राष्ट्रिय टोलीका पूर्वकप्तान उपेन्द्रमान सिंह दशरथ रंगशालामा अन्तर्राष्ट्रिय त के राष्ट्रिय प्रतियोगिता गर्नका लागि समेत पूर्वाधार नभएको बताउँछन्। भन्छन्, "चेन्जिङ् रुममा नुहाउने सावरसमेत छैन। पूर्वाधारका हिसाबले यो डेट एक्स्पायर भइसकेको रंगशाला हो।"

२९ फागुन ०४४ मा यही रंगशालामा असिनापानीसँगै भागदौड मच्चिँदा त्रिभुवन च्यालेन्ज सिल्ड अन्तर्गत जनकपुर चुरोट कारखाना र बंगलादेशको मुक्ति जोद्धाबीचको फाइनल खेल हेर्न गएका ७३ जनाले ज्यान गुमाएका थिए। त्यसयता रंगशालाको भौतिक संरचनामा सुधार गरिए पनि सुरक्षाका दृष्टिले खासै स्तरोन्नति भएको छैन। के यो रंगशाला वास्तवमै अन्तर्राष्ट्रिय खेलहरू सञ्चालन गर्न उपयुक्त छ त ? प्रश्न हिजो पनि थियो, आज पनि छ र भोलि कहिलेसम्म रहने हो थाहा छैन। 

Originally Appeared in NEPAL Magazine.

No comments:

Post a Comment