Wednesday, June 4, 2014

करिअरमै धक्का पर्न सक्छ भन्ने थाहा हुँदा पनि किन बोले रमेश खरेल

कारबाही भ्रष्टहरूलाई कि खरेललाई ?

राजधानीमा आयोजित एक कार्यक्रममा काठमाडौं प्रहरी प्रमुख रमेश खरेलले एआईजी बढुवामा केही डीआईजीहरू ब्रिफकेस बोकेर शक्तिकेन्द्रहरू धाइरहेको भन्दै बोलेको कुरालाई लिएर सामाजिक सञ्जालदेखि सदनसम्म तातिएको छ । यो विषयलाई लिएर समाज स्पष्ट रूपमा दुई कित्तामा विभाजित देखिन्छ । एउटा कित्ता खरेलले सत्य बोलेकाले उनलाई कारबाही हुन नहुने तर्क दिइरहेको छ भने अर्को कित्ता ‘चेन अफ कमान्ड’लाई तोड्दै संगठनको मर्यादाविपरीत बोलेकाले खरेलमाथि कारबाही हुनुपर्ने तर्क पेस गरिरहेको छ । तर, सूक्ष्म विश्लेषण गर्दा खरेलले बोलेको कुरामा सहमति जनाउने र उनीमाथि कारबाही हुनुहुँदैन भन्ने पक्ष मजबुत देखिन्छ । भलै त्यो पक्षको सरकार र सदन र दलीय पद्धतिमाथि पकड कम होला तर जनस्तरको समर्थन भ्रष्टाचारका विरुद्धमा बोलेकाले खरेलले गलत गरेनन् भन्ने नै छ ।

Wednesday, February 26, 2014

शिवजी किन गाँजा तान्छन्, हामीले तान्ने कि नतान्ने ? #shivaratri #shivaji #mahadev #pashupatinath

कालकुट विष सेवन गर्दै महादेव ।
संसारले पचाउन नसक्ने विषाक्त पदार्थहरुलाई आफूमा समाहित गर्ने हुन् शिवजीले । जस्तो, कालकुट विष, विषालु नाग, संन्यासी आवरण । त्यसैले शिवजीले सेवन गर्ने कुरा मानवले सेवन गर्न हुँदैन । शिवजीले गाँजा, भाङ धतुरोको सेवन गर्छन् भने बुझौं त्यो मानवका लागि हितकर छैन । त्यसैले त उनले आफूमा समाहित गरे । जय शम्भो । भोलेनाथले सबैको कल्याण गरुन् ।

Thursday, February 6, 2014

झोलको सय, छोक्राको दुई सय



स्केच : रवीन्द्र मानन्धर
रसुवाको धुन्चेमा भेटिए, एक व्यवसायी। उनी लालीगुराँस, स्याउ र स्ट्रबेरीको जुस र रक्सी उत्पादन गरेर बेच्दा रहेछन्। गफिँदै जाँदा मेरा नजर ती उत्पादनका मूल्यमा परे। कुरा के भने शुद्ध भनिएको जुसको चाहिँ प्रतिबोतल एक सय रुपियाँ। जुस निकालेपछि रहने छोक्राबाट बन्ने रक्सीको चाहिँ प्रतिबोतल दुई सय रुपियाँ।

"छोक्राबाट बन्ने रक्सी झन् महँगो ?" मेरो प्रश्न।

"यो नशाको मूल्य हो सर, केबाट बन्यो त्यसको के औचित्य ?" उनको जवाफ।

"छोक्रा त थोरै निस्किएला, पसलमा त जुस र रक्सी बराबरी छ नि ?" मैले सोधेँ।

"जुसमा पानीबाहेक केही मिसाउन पाइएन, रक्सीमा त अरू मसला पनि मिसाइन्छन् नि !" उनको प्रतिक्रिया।

"अनि, त्यो स्ट्रबेरीको रक्सी किन रातो ?" फेरि सोधेँ।

"स्ट्रबेरी कस्तो रंगको हुन्छ त ?" उनी थोरै झिँजिए।

"कच्चा पदार्थ जस्तो रंगको भए पनि रक्सी त रंगविहीन हुनुपर्ने होइन ?" मैले कुरा समातेँ।

उनको मुहारमा आक्रोशका हल्का लहर देखा परे। झोकिँदै भने, "सर, तपाईं पिउने मान्छे होइन रहेछ, पिउनेले यति धेरै सोच्दा पनि सोच्दैन, सोध्दा पनि सोध्दैन।"

Part of Notebook by UPAHAR JUNG SHAH published in Nepal Magazine on 2 February 2014

मिडिया नचिन्ने गाउँ



स्केच : रवीन्द्र मानन्धर
रसुवाको स्याफ्रुबेँसी कटेपछि गत्लाङ र गोल्जुङ गाउँ हुँदै चिलिमेसम्म पुगिन्छ, जहाँ चिलिमे जलविद्युत् आयोजना सञ्चालित छ। माघको पहिलो साता सहकर्मी रवि मानन्धरसँग त्यहाँ पुग्दा अनौठो अनुभव भयो। नेपालका अन्य भूभाग घुम्दा नयाँ मान्छे र क्यामरा देख्नासाथ 'कुन मिडियाबाट आउनुभएको' भनेर सोधिहाल्थे। धेरैले स्टिल क्यामरा र भिडियो क्यामरा छुट्याउन सक्दैनथे, कति त पत्रकारसँग कुरा गररिहँदा भिडियो खिचिँदै छ वा कतै लाइभ टेलिकास्ट भइरहेको छ भन्ने सोच्थे। तर, ती गाउँमा नयाँ मान्छे देख्यो कि 'प्रोजेक्टको काममा आउनुभएको' भनेर सोधिहाल्ने। फोटो खिचिरहँदा समेत बाटो नाप्ने काम भइरहेको अड्कल काट्थे। कहिले कालोपत्रे हुन्छ, मुआब्जा कहिले आउँछ भनेर सोध्थे।

रसुवा जिल्लामा ग्रामीण सडक र जलविद्युत् निर्माणको पछिल्लो चहलपहलले जनता पनि विकासका काममा बढी चासो राख्ने भएका रहेछन्। तर, बाहिरी रहनसहन, फेसन, भेषभूषाको उत्ति प्रभाव नदेखिने ती गाउँमा 'पत्रकार हौँ' भन्दाचाहिँ हम्मेसी नपत्याउने। बास बसेको होटलमा एक स्थानीयले र्‍याखर्‍याख्ती पारे। उनी भन्दै थिए, "यति टाढा घुम्नलाई मात्र आएको कुरा पत्याउन गाह्रो भो!"



Part of Notebook by UPAHAR JUNG SHAH published in Nepal Magazine on 2 February 2014

कुमारीको कहर



स्केच : रवीन्द्र मानन्धर
हनुमानढोकालगायत सम्पदा क्षेत्रमा अनुमतिबिना भइरहेका कन्सर्टका बारेमा रिपोर्टिङ् गर्नु थियो। सम्बन्धित सरकारी अधिकारी भने लाचारी मात्र देखाउने, क्लब र दलका प्रतिनिधिका बारेमा झन् बोल्नै नचाहने। आफूले खोजेजस्तो 'क्लु' नपाउँदा रन्थनिँदै थिएँ। हनुमानढोकामा कन्सर्टले सबैभन्दा बढी असर कुमारीघरलाई परेको छ भन्ने जानकारी थियो। सरासर त्यहीँ गएँ। भर्‍याङ उक्लिएँ। कुमारीको आसन खाली रहेछ। अरू त्यही आसनलाई ढोग्दै गइरहेका थिए। त्यसै छेउमै उभिइरहेँ, वस्तुस्थिति बुझ्न। मलाई देखेर बाहिर घाम तापिरहेकी कुमारी आफ्नो आसनमा आइन्।


छेवैमा एक महिला थिइन्। यहाँ कुमारीको रेखदेख कसले गर्नुहुन्छ भन्दै बोल्न खोजेँ। उनले मानिनन्। बरू भित्रबाट एक पुरुष 'फुर्सद छैन' भन्दै निस्किए। मैले आफ्नो प्रयोजन बताएँ, कन्सर्टको होहल्लाले कुमारीलाई केही असर परेको छ कि भनेर सोधेँ। उनी एक्कासि भावविह्वल भइहाले। बस्नलाई चकटी दिए। गुनासाको पोकै खोले। कुमारीको पढाइमा समेत असर परेको सुनाए। उनी रहेछन् कुमारीको रेखदेखमा रहेका महेन्द्र शाक्य। भने, "बाबु ! कसैले वास्ता नगरेको कुरा उठाउन लाग्नुभएछ, हेर्दै जानूस्, तपाईंलाई केही न केही राम्रो हुन्छ, हुन्छ।"

संयोग नै मान्नुपर्ला, त्यसै दिन बाहुबलका भरमा जबरजस्ती भइरहेका कन्सर्टका बारेमा यस्ता 'क्लु'हरू भटेँ, जसले स्टोरीमा १ सय ८० डिग्रीको परविर्तन ल्याइदियो। शाक्यले भनेजस्तै व्यक्तिगत जीवनमा चमत्कार होला, नहोला। तर, त्यस स्टोरी लेखेबापत साथीभाइ र सहकर्मीबाट पाएको स्याबासी सम्झँदा पनि मन प्रफुल्ल हुन्छ।



Part of Notebook by UPAHAR JUNG SHAH published in Nepal Magazine on 2 February 2014

ऐतिहासिक सम्पदामा कन्सर्टको उपद्रो : Negative Consequence of Illegally organized Concerts to Living Goddess Kumari #Kumari #Living_Goddess

STORY BY : UPAHAR JUNG SHAH
  •  जीवित देवी कुमारीको निवासमा कन्सर्टको उपद्रो
  • कुमारीको पढाइमा समेत बाधा
  • स्मारक क्षेत्रमा राजनीतिक दल र क्लबको जबरजस्ती

२ माघको मध्याह्न काठमाडौँको हनुमानढोका डबलीमा नेपाली सेनाको ब्यान्डबाजासहित बेग्लै तामझाम थियो। सन्दर्भ थियो, १६औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस। संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम, रेडक्रसलगायत अन्तर्राष्ट्रिय संगठनका उच्च अधिकारीको समेत बाक्लै चहलपहल रहेको सो कार्यक्रमका प्रमुख अतिथि थिए, मन्त्रिपरिषद् अध्यक्ष खिलराज रेग्मी।

ठीक त्यही समय वसन्तपुर डबलीको आडैमा रहेको कुमारीघरमा भने त्यो तामझामले उल्लास होइन कि उराठलाग्दो वातावरण बनाएको थियो। लोडसेडिङ्को समय भएकाले कुमारीघरको झ्यालैमुनि ठूलो जेनेरेटर चलाइएको थियो। कुमारीघरभित्र धूवाँको पिरोले आँखा खोल्न र राम्ररी सास फेर्नसमेत मुस्किल थियो। मानिसको होहल्ला, एकोहोरो बजिरहेको भूकम्प गीत, त्यसमाथि ब्यान्डबाजा।

यति कारण काफी थिए, जीवित देवीका रूपमा मुलुकले विश्वसामु गर्वका साथ चिनाउने कुमारीघरभित्रको वातावरण अस्तव्यस्त बनाउन। कुमारीको रेखदेखमा लागेको शाक्य परिवारका सातौँ पुस्ताका महेन्द्र शाक्य भन्दै थिए, "सधैँ यस्तै हो, जीवित देवीको समस्यामा कसैलाई वास्ता भए पो !"