Tuesday, September 10, 2013

उपत्यकाका विभिन्न स्थानमा फ्रि वाइफाई


कम्तीमा पनि ३० जनाले उच्च गतिमा इन्टरनेट चलाउन सक्ने
वाइम्याक्स प्रविधि अपनाएर धेरै मानिस जम्मा हुने स्थानहरुमा वाइफाइ हटस्पट बनाउने लक्ष राखेको नेपाल टेलिकमले राजधानी काठमाडौंका विभिन्न स्थानमा नि:शुल्क वाइफाइ इन्टरनेट दिइरहेको छ।
टेलिकमले हटस्पट निर्माणका क्रममा परिक्षण गरिरहेकाले विभिन्न ६ ठाउँमा निशुल्क वाइफाइ दिएको हो। wifi-hot-spot टेलिकमको यो आर्थिक वर्षमा मात्र देशका विभिन्न पाँच सय स्थानमा वाइफाइ हटस्पट बनाउने योजना छ।

काठमाडौंमा यतिखेर परिक्षणका क्रममा त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल, शिक्षण अस्पताल महाराजगञ्ज, शहीद गङ्गालाल हृदय रोग केन्द्र बाँसबारी, वीर अस्पताल र बसन्तपुर दरबार स्क्वायर साथै टेलिकमका विभिन्न कार्यालयहरुमा निशुल्क वाइफाइ इन्टरनेट उपलब्ध छ। टेलिकमका उपप्रबन्धक देबेन्द्र खतिवडाका अनुसार टेलिकमले विभिन्न १५ सय स्थानमा सञ्चालन गर्ने भनेको वाइफाइ हटस्पट निर्माणका क्रममा यतिखेर परिक्षणको काम भइरहेको छ। टेलिकमले वाइम्याक्स सेवा सुरु गर्दा १५ सय स्थानमा वाइफाइ हटस्पट सञ्चालनमा ल्याउने बताएको थियो।
उनले परिक्षण अवधिभर आम मानिसहरुले निशुल्क वाइफाइ इन्टरनेट चलाउन सक्ने बताए। यतिखेर टेलिकमले वाइफाइ हटस्पटको बिलिङ सिष्टमको परिक्षण गरिरहेको छ। यही परिक्षणको क्रममा तीन महिनासम्म आम उपभोक्ताले भने निशुल्क इन्टरनेट चलाउन पाउँछन्। टेलिकमले परिक्षण गरिरहेको वाइफाइ हटस्पटका क्षेत्रमा फोन, ल्यापटप तथा आईप्याड लगायतबाट इन्टरनेट चलाउन सकिन्छ। वाइम्याक्स इन्टरनेट चलाउनका लागि छुट्टै उपकरण आवश्यक भएपनि हटस्पटमा भने सिधै मोबाइल, आइप्याड वा ट्याब्लेटबाट नै इन्टरनेट चलाउन सकिन्छ।
अहिले हटस्पट परिक्षण भएका स्थानहरुमा ३ एपबीपीएस डाउनलोड र १ एमबीपीएस अपलोड क्षमता भएको इन्टरनेट सेवा उपलब्ध छ। अहिले जडान भएर निशुल्क उपलब्ध रहेको हटस्पटबाट कम्तीमा पनि ३० जनाले उच्च गतिमा इन्टरनेट चलाउन सक्नेछन्। टेलिकमले विश्वविद्यालय, अस्पताल, रेष्टुरेन्ट, एयरपोर्ट, पार्क, सपिङमल, बसपार्क साथै पर्यटक आवागमन बढी हुने क्षेत्रहरुमा हटस्पट बनाउने छ। यसका लागि अमेरिकन कम्पनी एयरस्पान नेटवर्कसँग टेलिकमले गत फागुनमा नै सम्झौता गरिसकेको छ।

No comments:

Post a Comment