Wednesday, February 18, 2015

खोइ कहाँ आयो लोकतन्त्र ?


हामी पुनः एकपटक प्रजातन्त्र दिवस मनाइरहेका छौँ । १ सय ४ वर्षे राणा शासनको अन्त्य हुँदा जनतामा जुन किसिमको उत्साहको सञ्चार भएको थियो, त्यो उत्साहलाई त्यसपछिका कुनै पनि व्यवस्थाले पूरा गर्न सकेनन् । त्यसमाथि लोकतन्त्रको स्थापनापछि त जनताका इच्छा तथा आंकाक्षा जादू गरेझैं पूरा हुने आशा देखाएका थिए दलहरूले । त्यही भएर नेपाली जनताले राजनीतिक दलहरूबाट पटकपटक धोका पाउँदै आएका भए पनि ०६२/०६३ को जनआन्दोलनमा पुनः एकपटक दलहरूलाई मौका दिए र जीउज्यान नभनी पुनः एकपटक आन्दोलनमा होमिए । तर जनआन्दोलनको बलबाट मुलुकमा लोकतन्त्र स्थापना भएको पनि हेर्दाहेर्दै ६ वर्ष भइसक्दा पनि जनताका समस्या ज्यूँका त्यूँ रहेका छन् । राजनीतिक आवरणमा रहनेहरूले भने लोकतन्त्रको खुबै फाइदा उठाएका छन्, तर जनताका लागि जुन जोगी आए पनि कानै चिरेका भनेझैं भएको छ, लोकतन्त्र । त्यही भएर त जनता प्रश्न उठाउन थालेका छन्, ‘खोइ कहाँ आयो लोकतन्त्र ?’

Wednesday, February 4, 2015

युवा जिज्ञासा, कलामका समाधान (Book Revew of 'Forge Your Future' by APJ Abdul Kalam)

भारतका ११औँ राष्ट्रपति एपीजे अब्दुल कलाम अहिले पनि उत्तिकै लोकपि्रय छन् । कलाम युवा पुस्तासँग अन्तरक्रिया गर्न औधी रुचाउँछन् । फेसबुक पेजमा झन्डै १९ लाख लाइक, ट्वीटरमा ६ लाख ४८ हजार फलोअर्स नयाँ पुस्तामाझ उनको लोकपि्रयता दसार् उने सूचक हुन् । सार्वजनिक समारोहमा पनि उनी युवासँगै घुलमिल हुन्छन् । यही कारण, उनलाई दैनिक तीन सयभन्दा बढी इमेल आउँदा रहेछन्, जसमा युवा मनमा प्रतिध्वनित विविध जिज्ञासा समेटिएका हुन्छन् । अनि, कलाम भ्याएसम्म सबैलाई उत्तर दिन्छन्  । सफलताका सूत्र सुझाउँछन् । १५ वर्षयता कलामले १ करोड ६० लाखभन्दा बढी युवासँग अन्तरक्रिया गरेछन् । विविध जिज्ञासाका समाधानका उपाय आफ्ना अनुभवका आधारमा बाँडेछन् । तिनै उत्कण्ठा अनि समाधानका सूत्रलाई कलामले पुस्तकको रूप  दिएका छन्, फोर्ज योर फ्युचर ।

कलाम आफूलाई प्राप्त हुने जिज्ञासालाई इन्दे्रनीका विविध रंगका रूपमा व्याख्या गर्छन् । हरेक रंग एक अर्काभन्दा पृथक् तर सबैको मूल प्रकाश एउटै । युवा आत्माका आवाज, सत्यनिष्ठता, आकांक्षा र जिज्ञासालाई इन्द्रेनीको रंगको स्रोत प्रकाश मानेका छन्  कलामले । कलाम चाहन्छन्, यो प्रकाशको पुञ्जले अझ व्यापक रूप लेओस्, ताकि अरू पनि हजारौँ युवा मन र मस्तिष्क चम्किन सकून् । उनीहरूले सफलताको उचाइ चुमून् । आफ्ना अघि जति पनि समाधान तेर्सिन्छन्, तिनलाई कलाम 'समस्या'भन्दा 'प्रक्रिया'  भन्न रुचाउँछन् । अर्थात्, हामीले जीवनका घटनाक्रमलाई जसरी सम्हालिरहेका छौँ, त्यसको प्रक्रियालाई परिवर्तन गर्ने हो भने समस्याप्रतिको दृष्टिकोण बदलिन्छ र अन्ततः समाधान हात लाग्छ । समाधानका उपायभन्दा समस्याकै वरिवरि बढी केन्दि्रत हुँदा अवस्था  झन् झन् जटिल हुँदै जाने कलामको ठहर छ । त्यसैले त कलाम अन्तरक्रियाका क्रममा समस्या होइन, समाधानका उपायमा बढी केन्दि्रत हुन उत्प्रेरित गर्छन् ।