Wednesday, June 4, 2014

करिअरमै धक्का पर्न सक्छ भन्ने थाहा हुँदा पनि किन बोले रमेश खरेल

कारबाही भ्रष्टहरूलाई कि खरेललाई ?

राजधानीमा आयोजित एक कार्यक्रममा काठमाडौं प्रहरी प्रमुख रमेश खरेलले एआईजी बढुवामा केही डीआईजीहरू ब्रिफकेस बोकेर शक्तिकेन्द्रहरू धाइरहेको भन्दै बोलेको कुरालाई लिएर सामाजिक सञ्जालदेखि सदनसम्म तातिएको छ । यो विषयलाई लिएर समाज स्पष्ट रूपमा दुई कित्तामा विभाजित देखिन्छ । एउटा कित्ता खरेलले सत्य बोलेकाले उनलाई कारबाही हुन नहुने तर्क दिइरहेको छ भने अर्को कित्ता ‘चेन अफ कमान्ड’लाई तोड्दै संगठनको मर्यादाविपरीत बोलेकाले खरेलमाथि कारबाही हुनुपर्ने तर्क पेस गरिरहेको छ । तर, सूक्ष्म विश्लेषण गर्दा खरेलले बोलेको कुरामा सहमति जनाउने र उनीमाथि कारबाही हुनुहुँदैन भन्ने पक्ष मजबुत देखिन्छ । भलै त्यो पक्षको सरकार र सदन र दलीय पद्धतिमाथि पकड कम होला तर जनस्तरको समर्थन भ्रष्टाचारका विरुद्धमा बोलेकाले खरेलले गलत गरेनन् भन्ने नै छ ।

प्रहरी सेवामा साढे दुई दशकभन्दा बढी समय कर्तव्यनिष्ठ भएर काम गरेका खरेलजस्ता अफिसरलाई त्यसरी बोल्नु संगठनको मर्यादाविपरीत हुन्छ भन्ने थाहै नहुने त कुरै भएन । आफ्नो बोलीले यत्तिको हलचल ल्याउँछ भन्ने उनलाई राम्ररी थाहा थियो । ध्यान दिनुपर्ने कुरा के हो भने खरेल आईजीपीको लाइनका प्रहरी अधिकृत हुन् । यसअघि पनि खरो स्वभाव र शक्ति केन्द्रहरूलाई रिजाउन नसक्ने प्रवृत्तिकै कारण उनी बढुवामा ठगिइसकेका छन् । उनीमाथि कारबाही भई बढुवा प्रक्रियामा व्यवधान आउने हो भने उनको आईजीपी बन्ने सपना सपना मात्र रहनेछ । यसरी बोल्दा आफ्नो करिअरमै गम्भीर धक्का पर्न सक्छ भन्ने कुरा खरेलजस्ता प्रहरी अधिकृतलाई थाहै थिएन भन्ने सोच्नसमेत नसकिने कुरा हो । तैपनि, किन बोल्न बाध्य भए त खरेल ? आफ्नो करिअर, सपना सब दाउमा राखेर किन बाले त खरेल ? राज्य, बुद्धिजीवी, नागरिक समाज, प्रशासन, राजनीतिक दल लगायत सरोकारवाल सबै पक्षले गम्भीर भएर सोच्नुपर्ने विषय हो यो ।
खरेलले जे बोले, केही दिनको अन्तरमै त्यो साबित पनि भयो । अर्थात्, खरेलले निरर्थक बोलेका रहेनछन् । कनिष्टहरू एआईजीको सिफारिसमा परे । स्वयं गृहमन्त्रीले पनि भागबन्डा मिलाउनका लागि कनिष्टहरूलाई माथि ल्याउनपरेको स्वीकार गरेका छन् । खरेलले मर्यादा विपरीत बोल्नुजति गलत थियो, त्यो भन्दा हजारौं गुना खतरनाक कुरा हो एआईजीमा बढुवाको विषय र त्यसमा आर्थिक चलखेल । के वरिष्ठलाई पन्छाएर कनिष्टलाई माथि ल्याइँदा, त्यो पनि आर्थिक प्रभावमा परी, त्यसले पूरै संगठनलाई नै तहसनहस पार्दैन ? संगठनका अधिकृतहरूको मनोविज्ञानमा त्यसले कस्तो असर पार्छ । इमानदारहरू निराश हुने र भ्रष्टाचार मौलाउने अवसर पाउँदैन ?
उसै त प्रहरी संगठनमा राजनीतिक हस्तक्षेप पहिलेदेखि नै अत्यधिक छ । अब त खुलेआम आर्थिक चलखेल हुने अवस्था सिर्जना भएको छ । सशस्त्र प्रहरीका पूर्वएआईजी रविराज थापाका अनुसार प्रहरी संगठनमा बढुवामा चलखेल हुने र त्यही चलखेलको पैसाले पार्टी चलाउने अभ्यास ०४६ सालदेखिकै हो । यस विषयमा हुनेले एक अनलाइनका लागि लेख नै लेखेका छन् । उनको भनाइलाई आधार मान्ने हो भने पनि बुझ्न कठिन छैन, हरेक बढुवामा चलखेल भइरहेको छ र त्यसमा ठूलो आर्थिक लेनदेन हुन्छ । यसापालिको एआईजी बढुवामा मुख्यतः कांग्रेस र एमाले चुपजस्तै देखिएका छन् । एमाओवादीलगायत अन्य दलबाट धेरथोर विरोध र असन्तुष्टिका आवाज सुनिएका छन् । यसको अर्थ बढुवामा सबैभन्दा बढी फाइदा कसकसले लिइरहेका छन्, वा रुपियाँले भरिएका ब्रिफकेसहरू कहाँकहाँ पुगेका छन् ।
हो, खरेलले पक्कै पनि मर्यादाविपरीत बोले होलान् । तर, नेपालकै कानुनमध्ये ०६४ सालको सूचनाको हकसम्बन्धी ऐनले समेत भ्रष्टाचारको सूचना दिने सरकारी अधिकारीलाई सूचना दिएकै कारण कारबाही गर्न नहुने स्पष्ट तोकेको छ । यसलाई आधार मान्ने हो भने पनि खरेलले गम्भीर अपराध गरेका छैनन्, ताकि उनलाई करिअरमै बाधा पुग्ने गरी कारबाही गर्न परोस्, वा सरुवा नै गर्न परोस् । संगठनमा अनुशासन कायम राख्नका लागि केही कडाइ हुन्छ नै, सुरक्षा निकायहरूमा । यो विश्वव्यापी मान्यता पनि हो । यसैलाई आधार मानेर हेर्ने हो भने पनि प्रहरीमा खरेललाई नसियत दिनेसम्मको सामान्य कारबाही हुन सक्ला । तर, एआईजीमा चलखेल भइसकेको छर्लंग भइसकेको अवस्थामा र स्वयं गृहमन्त्रीले समेत चलखेल भएको स्वीकारिसकेको अवस्थामा खरेलमाथि गरिने कुनै पनि कार्यले समाज र प्रहरी संगठनमा नकारात्मक सन्देशबाहेक केही दिँदैन । तीतो सत्य हुन्छ, तर नागरिकले अति महत्वपूर्ण भइकन पनि पूरा विश्वास नगर्ने संगठन प्रहरी पनि हो । राजनीतिक हस्तक्षेप नै यसमा शतप्रतिशत दोषी छ । के अब त्यो छविलाई जनमानसमा अझ गिर्ने अवस्था सिर्जना गर्ने ?

No comments:

Post a Comment