Friday, January 9, 2015

पृथ्वीनारायणको भावनात्मक एकीकरण


इतिहासलाई दुत्कार्नेहरूले वर्तमानमा उन्नति गरेको उदाहरण छैन । पृथ्वीनारायण शाहका सालिक भत्काउनेहरूले पनि अहिले यो कुरा बिस्तारै बुझ्न थालेको आभास भएको छ । पृथ्वीनारायणले भौगोलिक एकीकरण गरे तर भावनात्मक एकीकरण गर्न सकेनन्, उनी क्रूर राजा थिए जस्ता अनेक लाञ्छना लगाइए । तर, इतिहासलाई राम्ररी केलाउने हो भने पृथ्वीनारायणले भावनात्मक रूपमा समेत जनताको मन जित्दै गएको पाइन्छ । काठमाडौँ आक्रमणका समयमा गोर्खाली सेनाले तीनवटा नाकाबाट आक्रमण गरेको थियो, भीमसेनस्थान, नरदेवी र टुँडिखेल । इन्द्रजात्राको माहोलमा मस्त काठमाडौँलाई रक्तपात नगरीकनै गोर्खाली सेनाले नियन्त्रणमा लियो । धेरैको ध्यान नपुगेको तथ्य के हो भने त्यस बेला दक्षिणको एउटा नाका खुलै छाडिएको थियो, लगनतर्फ । यसको उद्देश्य के थियो भने भाग्न चाहनेहरूले भाग्न पाऊन् । चारैतिरबाट नाकाबन्दी हुने गरी आक्रमण भएको भए सम्भवतः प्रतिकार हुन्थ्यो । धेरैको ज्यान जान्थ्यो । यो पृथ्वीनारायणको रणनीतिक चातुर्य थियो ।
सामरिक दृष्टिकोणले नेपालकै महत्वपूर्ण राज्य कब्जा गरेका पृथ्वीनारायणमा विजय उन्माद हुन्थ्यो भने उनले शाक्य कन्या ‘कुमारी’को अगाडि शिर निहुराएर किन टीका थाप्थे ? इन्द्रजात्रालाई किन निरन्तरता दिन्थे ? यहाँका पूजारीका हरेक निर्देशनलाई अक्षरशः पालना गर्दै संस्कृति किन जोगाउँथे ? विजय उन्मादमा मानिस कति विवेकहीन हुँदा रहेछन् भन्ने त यहाँका क्रान्तिकारीहरूले सालिकहरूमाथि पुरुषार्थ देखाएर प्रमाणित गरिसकेका छन् । तर, त्यति ठूूलो उपलब्धिमा पनि पृथ्वीनारायणले विवेक गुमाएनन् ।
अर्को कुरा नेपाल एकीकरण प्रारम्भिक चरणको मुट्ठीभर गोर्खाली सेनाले गरेको होइन । समयक्रममा यसले विशाल रूप लिँदै गएको पाइन्छ । अर्थात्, जुन जुन राज्यमा पृथ्वीनारायणले विजय हासिल गर्थे, त्यहाँको सेना पनि गोर्खाली सेनामा मिसिँदै जान्थ्यो । भावनात्मक रूपमा एकीकरण नगरेका भए त पछि सेनाभित्रै विद्रोह हुन सक्थ्यो । वा, पराजित भइसकेपछि पनि अर्को राज्यको सेनाको पछि लागेर किन हिँड्थे ? नेपाल एकीकरण अभियान गोर्खा राज्यको विस्तार मात्र नभएर तत्कालीन अवस्थामा ब्रिटिस साम्राज्यवादविरुद्धको प्रतिरोध पनि हो भन्ने कुरा त्यस बेलाका मानिसले बुझेका थिए । झूटा सपना बाँडेर जनतालाई दिग्भ्रमित पार्नुको साटो इतिहासबाट केही सिक्ने हो भने सबैको भलाइ नै होला ।

आलोक अनुरागीको ब्लगबाट साभार


No comments:

Post a Comment