Tuesday, January 13, 2015

बैंकको समर्थन बन्दलाई (Bank Counter Remained Closed Supporting the Strike)


आज Global IME Bank Limited को गैरजिम्मेवारीले पराकाष्ठा नाघ्यो । बैंकले आफ्नो काउन्टर बन्दको बहानामा बन्द गरिदिँदा कहाँ कहाँबाट पैदल बल्खुस्थित परीक्षा नियन्त्रण कार्यालय पुगेका सेवाग्राही तथा विद्यार्थीले त दुःख पाए पाए, पनिकाका अन्य कर्मचारीसमेत आज बैंक खोलेकै छैन, केही काम हुँदैन भन्दै १ नबज्दै ताला लगाएर हिँडिरहेका थिए । केही चौरमा घाम ताप्न व्यस्त थिए ।
हुन पनि, जुनसुकै सेवा लिन पनि पहिले ग्लोबलको काउन्टरमा पैसा तिर्न पर्छ, त्यसपछि पनिकाको रसिद कटाउनुपर्छ, अनि मात्र प्रक्रिया अघि बढ्छ । कर्मचारीलाई यति भएपछि के चाहियो ?
अझ उदेकलाग्दो कुरा त के भने मैले यस विषयमा कम्प्लेन गरुँ भनेर बैंकका झन्डै आधा दर्जन नम्बरमा फोन गरेँ । तर, एउटाले अर्कोलाई देखाउने, मैले हेर्ने होइन, उसले हेर्ने हो भन्नेबाहेक केही भएन । झन्डै आधा दर्जन कर्मचारीसँग मोबाइलबाट आधा घन्टाभन्दा बढी गुनासो गरे पनि काम त भएन नै बित्थैमा ब्यालेन्स पनि खर्च भयो । आधिकारिक रुपमा मेरो कम्प्लेन दर्ता गर्नुस्, कसले गर्ने भनेर सोध्दा सबै जना मैले हेर्ने होइन भन्दै पन्छिए ।
बन्दलाई ग्लोबलको समर्थन, क्या काइदा ।

२९ पुस २०७१

Friday, January 9, 2015

एउटी नारीको बयान

इभोन बुडेनबर्गको पुस्तक छ, एभ्री लाइफ इज ए फेयरी टेल। अर्थात्, हरेक जीवन एउटा परीकथा हो। सर्जक र जनसाधारणबीच फरक कति भने सजर् कहरू जीवनका विविध भोगाइलाई अक्षरको धागोमा उनेर सुन्दर माला बनाउँछन्, जनसाधारणका कथा मानसपटलबाटै विस्मृत हुँदै जान्छन्। प्रेम, यौन र  सम्बन्धका यस्तै सामाजिक दृश्यलाई कथा सामग्री बनाएकी छन्, निरूपा प्रसूनले, तिम्रो लोग्ने र ममार्फत।

'हाम्रो अघिबाट एक जोडी हात समाउँदै तल खोल्साबाट उठेर गयो। तिनीहरूलाई देखाउँदै भने उनले, कहिले मलाई सृजाले प्रेम गर्ली र त्यो झ्याङभित्र  जाने हो।' कथा 'वरिपरि'मा एक तरुण लेखिकाको बयान हो यो, जो उनी अर्थात् ५० नाघेका एक वरष्िठ कविलाई निकै सम्मान गर्छिन्, स-साना कुरा  पनि सुनाउँछिन्। तर, ती कविको मनको अन्तरकुनामा कस्तो चाहना लुकेको रहेछ त? के यसले सामाजिक यथार्थको चित्रण गर्दैन? यस्तै यस्तै विविध  सम्बन्ध र त्यसभित्रका स्वार्थको मिहिन विश्लेषण छन्, प्रसूनका कथामा।

पृथ्वीनारायणको भावनात्मक एकीकरण


इतिहासलाई दुत्कार्नेहरूले वर्तमानमा उन्नति गरेको उदाहरण छैन । पृथ्वीनारायण शाहका सालिक भत्काउनेहरूले पनि अहिले यो कुरा बिस्तारै बुझ्न थालेको आभास भएको छ । पृथ्वीनारायणले भौगोलिक एकीकरण गरे तर भावनात्मक एकीकरण गर्न सकेनन्, उनी क्रूर राजा थिए जस्ता अनेक लाञ्छना लगाइए । तर, इतिहासलाई राम्ररी केलाउने हो भने पृथ्वीनारायणले भावनात्मक रूपमा समेत जनताको मन जित्दै गएको पाइन्छ । काठमाडौँ आक्रमणका समयमा गोर्खाली सेनाले तीनवटा नाकाबाट आक्रमण गरेको थियो, भीमसेनस्थान, नरदेवी र टुँडिखेल । इन्द्रजात्राको माहोलमा मस्त काठमाडौँलाई रक्तपात नगरीकनै गोर्खाली सेनाले नियन्त्रणमा लियो । धेरैको ध्यान नपुगेको तथ्य के हो भने त्यस बेला दक्षिणको एउटा नाका खुलै छाडिएको थियो, लगनतर्फ । यसको उद्देश्य के थियो भने भाग्न चाहनेहरूले भाग्न पाऊन् । चारैतिरबाट नाकाबन्दी हुने गरी आक्रमण भएको भए सम्भवतः प्रतिकार हुन्थ्यो । धेरैको ज्यान जान्थ्यो । यो पृथ्वीनारायणको रणनीतिक चातुर्य थियो ।
सामरिक दृष्टिकोणले नेपालकै महत्वपूर्ण राज्य कब्जा गरेका पृथ्वीनारायणमा विजय उन्माद हुन्थ्यो भने उनले शाक्य कन्या ‘कुमारी’को अगाडि शिर निहुराएर किन टीका थाप्थे ? इन्द्रजात्रालाई किन निरन्तरता दिन्थे ? यहाँका पूजारीका हरेक निर्देशनलाई अक्षरशः पालना गर्दै संस्कृति किन जोगाउँथे ? विजय उन्मादमा मानिस कति विवेकहीन हुँदा रहेछन् भन्ने त यहाँका क्रान्तिकारीहरूले सालिकहरूमाथि पुरुषार्थ देखाएर प्रमाणित गरिसकेका छन् । तर, त्यति ठूूलो उपलब्धिमा पनि पृथ्वीनारायणले विवेक गुमाएनन् ।
अर्को कुरा नेपाल एकीकरण प्रारम्भिक चरणको मुट्ठीभर गोर्खाली सेनाले गरेको होइन । समयक्रममा यसले विशाल रूप लिँदै गएको पाइन्छ । अर्थात्, जुन जुन राज्यमा पृथ्वीनारायणले विजय हासिल गर्थे, त्यहाँको सेना पनि गोर्खाली सेनामा मिसिँदै जान्थ्यो । भावनात्मक रूपमा एकीकरण नगरेका भए त पछि सेनाभित्रै विद्रोह हुन सक्थ्यो । वा, पराजित भइसकेपछि पनि अर्को राज्यको सेनाको पछि लागेर किन हिँड्थे ? नेपाल एकीकरण अभियान गोर्खा राज्यको विस्तार मात्र नभएर तत्कालीन अवस्थामा ब्रिटिस साम्राज्यवादविरुद्धको प्रतिरोध पनि हो भन्ने कुरा त्यस बेलाका मानिसले बुझेका थिए । झूटा सपना बाँडेर जनतालाई दिग्भ्रमित पार्नुको साटो इतिहासबाट केही सिक्ने हो भने सबैको भलाइ नै होला ।

आलोक अनुरागीको ब्लगबाट साभार