Thursday, September 19, 2013

फौजी चिकित्सक

भक्तपुरको ठिमीस्थित एउटा घरमा सखारै बिरामीको चहलपहल सुरु हुन्छ। घरमूली पालैपालो सबैका समस्या सुन्छन्। हत्केला, पैताला र अनुहारका विभिन्न विन्दुमा थिचथाच पार्छन्। यस्तो विधि बिरामीलाई पनि सिकाउँछन्। बिनाऔषधी राहत महसुस गरेकाहरू उज्यालो अनुहार लिएर फर्किन्छन्। हिँडडुल गर्न नसक्नेकहाँ भने आफैँ पुग्छन्, झपटबहादुर थापा मगर, ५६।

अकुप्रेसर विधिमार्फत बिरामीको निःशुल्क उपचारमा संलग्न झपटले ३६ वर्ष नेपाली सेनामा बिताए। सैनिक जवानबाट सुरु भएको उनको करिअर लेफ्टिनेन्ट कर्नेलमा गएर टुंगियो, तीन वर्षअघि। फौजमा हुँदा कसरत असाध्यै गर्नुपर्ने, धाईधपेडी उत्तिकै। जीउ साह्रै दुख्दा सैनिकहरू एकअर्कालाई मालिस गरिदिन्थे। उनमा भने उत्सुकता जाग्थ्यो, मालिसले दुखाइ कम हुन्छ कसरी ?



घोत्लिन थाले, प्राकृतिक चिकित्साका पुस्तकहरूमा। कारण पनि पत्ता लगाए। मालिस गर्दा शरीरका विभिन्न 'रिफ्लेक्स प्वाइन्ट'मा दबाब पर्दो रहेछ। जसले हर्मोनहरूलाई सक्रिय गराइदिन्छ। र, शरीरमा जहाँ जहाँ समस्या छ, त्यसको उपचार शरीर स्वयंले गर्न थाल्छ। इसापूर्व ६ सय वर्षपहिले चरक र सुश्रुत ऋषिले पत्ता लगाएको उपचार विधि हो, अकुप्रेसर। उनले यसको प्रशस्त स्वाध्याय गरे। भारतको राजस्थानबाट औपचारकि तालिम पनि लिए।

अकुप्रेसरबाटै कैयौँको दीर्घरोग ठीक पारिदिएका छन् झपटले। औषधीले बीसको उन्नाइस नभएकाहरू औषधीबिना नै स्वास्थ्यमा सुधार हुँदा दंग पर्छन्। अप्राकृतिक रसायन र कृत्रिम हर्मोनयुक्त औषधीले शरीरको प्रतिरोधात्मक शक्तिलाई निस्तेज पार्दै लैजाने उनको धारणा छ। भन्छन्, "शरीरको उपचार शरीरले नै गर्छ, खालि प्रतिरोधात्मक शक्ति र हर्मोनहरूलाई आफू अनुकूल प्रयोग र नियन्त्रण गर्न सक्नुपर्छ।"

अकुप्रेसरका विधि सामान्य छन्। मानिस मूच्र्छा परे नाकमुनि र ओठमाथिको खाल्टो भागमा दुई मिनेटजति थिचिदिए होस आउँछ। दायाँ नाक बन्द गरी बायाँले मात्र सास लिए शरीर शीतल हुन्छ, दायाँले मात्र सास लिए शरीर न्यानो हुन्छ। गर्दनको माथिल्लो भागमा दुईवटा खाल्टो परेको भाग हुन्छ, जहाँ एक मिनेट औँलाले दबाब दिए टाउको दुख्दा फाइदा गर्छ। हृदयघात भएका बिरामीलाई अस्पतालसम्म पुर्‍याउँदासमेत शरीरका विभिन्न 'रिफ्लेक्स प्वाइन्ट'मा दबाब दिएर प्राथमिक उपचार गर्न सकिन्छ। क्यान्सरजस्तो जटिल रोगमा समेत यस विधिबाट लाभ लिन सकिने उनी सुनाउँछन्। उसो त आधुनिक उपचार पद्धतिले समेत प्राकृतिक पद्धति अँगाल्न थालेको छ। फिजियोथेरापीमा समेत अकुप्रेसरको प्रयोग बढिरहेको छ। भन्छन्, "आधुनिक र प्राकृतिक पद्धतिलाई फ्युजन गराउन सके गजब हुन्थ्यो।"

अकुप्रेसर र स्वास्थ्यसम्बन्धी उनको पुस्तक प्रकाशन हुने क्रममा छ। सकेसम्म सस्तो मूल्यमा निकाल्ने र ग्रामीण क्षेत्रका अति विपन्नहरूलाई सित्तैँमा भए पनि बाँड्ने योजना छ उनको। यसअघि उनका उपन्यास, कविता, सेना र सामान्य ज्ञानसम्बन्धी आधा दर्जन पुस्तक प्रकाशित छन्। नेपाली सेनाको मुखपत्र सिपाहीमा उनले कार्टुनिस्टको भूमिका पनि निर्वाह गरेका थिए।

चुपचाप बस्ने बानी नै छैन उनको। अवकाशपछि सीधै हान्निएछन्, गोरखास्थित आफ्नो गाउँ सिमलगौरी। सहकारीमा आधारति बोर्डिङ् स्कुल सञ्चालनमा ल्याए। आफ्नै पहलमा गाउँसम्म मोटरबाटो पुर्‍याए। फेरि नेपाली सेनाले बोलायो। र, जवानहरूलाई चाहिने सामान सुलभ मूल्यमा उपलब्ध गराउने वसुन्धरा क्यान्टिनको प्रबन्धकको जिम्मेवारी लिए।

प्राकृतिक चिकित्सा विधिलाई देशव्यापी फैलाउने धोको छ झपटको। सेनामा छँदा पचहत्तरै जिल्ला घुमेका र त्यहाँको गरिबी प्रत्यक्ष देखेका उनी डाक्टरलाई हरेक कुनामा पुर्‍याउन नसके पनि गाउँगाउँमा 'खालीखुट्टे डाक्टर' भने जन्माउन सकिने कुरामा आशावादी छन्। त्यसका लागि ठूलो लगानी चाहिन्न पनि। केवल जनचेतना फैलाए पुग्यो। कसरी फैलाउने त चेतना ? भन्छन्, "प्राविधिक विषयका रूपमा मान्यता दिने, तालिम सञ्चालन गर्ने, सकिन्छ भने स्कुलको पाठ्यक्रममा पनि राख्ने।"

Published in : Nepal Magazine (August 18, 2013)

No comments:

Post a Comment