Tuesday, September 10, 2013

कन्डममा पनि कमिसन

 काठमाडौँ, नयाँ सडकका औषधी विक्रेता दिनेश सकेसम्म नयाँ ब्रान्डका कन्डम बेच्न खोज्छन्। नेपाल सीआरएस कम्पनी, मेरी स्टोप्स इन्टरनेसनललगायत कम्पनीले सोसल मार्केटिङ् अन्तर्गत बजारमा ल्याएका सस्ता कन्डम भने सकेसम्म बेच्दैनन्। "नेपाली कम्पनीका कन्डममा एक/दुई रुपियाँभन्दा नाफा हुँदैन, विदेशी ब्रान्डमा १८ देखि २० रुपियाँसम्म आउँछ," उनी हाकाहाकी भन्छन्, "कसैले नामै तोकेर नमागेसम्म सस्ता कन्डम बेच्दिनँ।"

नयाँ बानेश्वरका अर्का औषधी व्यवसायी मनोज भने मानिस हेरेर कन्डम बेच्दा रहेछन्। "व्यक्तिको आर्थिक हैसियत आकलन गरेर बेच्ने गरेको छु," उनी भन्छन्, "पैसा हुनेले बार्गेनिङ् गर्दैनन्, भनेजति दिन्छन्।"

दिनेश र मनोज त उदाहरण मात्र हुन्। उनीहरू कन्डमबाट मात्रै मासिक १० हजारभन्दा बढी नाफा हुने सुनाउँछन्। अधिकांश विक्रेताले बढी नाफा हुने भएकाले आयातित नयाँ ब्रान्डका कन्डम नै बिक्री गर्दै आएका छन्। जस्तो ः सीआरएसले बजारमा ल्याएको प्रतिप्याकेट पाँच रुपियाँ पर्ने ढालमा बिक्रेताले जम्मा एक रुपियाँ कमिसन पाउँछन्। त्यस्तै सीआरएसकै प्रतिप्याकेट १० रुपियाँ पर्ने प्यान्थरमा विक्रेताले केवल दुई रुपियाँ कमिसन पाउँछन्। तर, अन्य ब्रान्डका कन्डम प्रतिप्याकेट सात/आठ रुपियाँमा किनेर २५ रुपियाँसम्म बेच्ने गरेको विक्रेताहरू सुनाउँछन्।


पहिले-पहिले बजारमा दुई/चार ब्रान्डका कन्डम मात्र पाइन्थे भने अहिले ५० भन्दा बढी ब्रान्डका कन्डम उपलब्ध छन्। आयातित ब्रान्डका कन्डमले बिस्तारै बजार लिन थालेपछि विदेशी कम्पनी आकषिर्त हुँदै गएका छन्। साढे तीन दशकदेखि परविार नियोजनका साधन वितरण गर्दै आएको नेपाल सीआरएस कम्पनीका एक अधिकारीका अनुसार नेपालमा वाषिर्क करबि पाँच करोड थान कन्डम खपत हुन्छ। त्यसमध्ये दुई करोड थान कन्डम सीआरएस र मेरी स्टोप्स इन्टरनेसनलले सोसल मार्केटिङ् अन्तर्गत सस्तो मूल्यमा बजार पुर्‍याउँछन्।

ती अधिकारीका अनुसार दुई करोड थान स्वास्थ्य मन्त्रालय अन्तर्गतका विभिन्न कार्यक्रममार्फत सित्तैँमा वितरण हुन्छन् भने व्यावसायिक रूपमा भित्रिएका एक करोड थान कन्डम बिक्रीमा जान्छन्। अहिले सोसल मार्केटिङ् अन्तर्गत ढाल, प्यान्थर, जोडी, नम्बर वानलगायत कन्डम बजारमा उपलब्ध छन्। व्यावसायिक रूपमा भने ब्ल्याक कोब्रा, ड्युरेक्स, पि्रमियर, कामसूत्र, मुड्स, पार्टनर, कोहिनुरलगायत कन्डम बजारमा बिक्री भइरहेका छन्।

उसो त खुलाबजार अर्थतन्त्रमा विभिन्न ब्रान्डको प्रतिस्पर्धाका कारण मूल्य घट्छ, गुणस्तरमा वृद्धि हुन्छ र उपभोक्ताले राहत पाउँछन्। तर, कन्डममा भने व्यापारीहरूले आफूखुसी मूल्य तोक्ने गरेका छन्। विशेष गरी बजारमा देखिएका नयाँ ब्रान्डका कन्डमको मूल्य पसलपिच्छे फरक पर्ने गरेको छ। केही राम्रा र अन्तर्राष्ट्रिय ब्रान्डका गुणस्तरीय कन्डम बजारमा भित्रिएको भए पनि उत्पादक तथा वितरकको नाम, उत्पादन तथा एक्सपायरी मितिसमेत स्पष्ट नलेखिएका गुणस्तरहीन कन्डम बजारमा भेटिएको जानकारहरू बताउँछन्। उनीहरूका अनुसार बढी कमिसनकै लोभमा व्यापारीहरूले सक्कली/नक्कलीसमेत नछुट्याई जथाभावी रूपमा कन्डम बिक्री गर्ने गरेका छन्। सीआरएस कम्पनीकै एक अधिकारीका अनुसार ब्ल्याक कोब्रा, अमेरकिी ब्रान्डको पि्रमियरलगायत केही ब्रान्डका नक्कली कन्डम बजारमा भेटिएका छन्।

वरष्िठ छाला तथा यौनरोग विशेषज्ञ डा विनोद पोखरेलका अनुसार विश्व स्वास्थ्य संगठन -डब्लूएचओ)को मापदण्ड अनुरूपका कन्डम मात्र भरपर्दा मानिन्छन्। ल्याटेक्स -कन्डम बनाइने रबर), लुबि्रकेन्ट -चिल्लो पदार्थ), पोरोसिटी (सूक्ष्मता) र कम्प्लायन्स (प्रयोगकर्ताले स्वीकार्न सक्ने वा नसक्ने) आधारमा कन्डमको गुणस्तर निर्धारण हुन्छ। भन्छन्, "यीमध्ये कुनै एक आधारमा मात्र कमी रह्यो भने स्वास्थ्यका लागि जोखिमपूर्ण हुन सक्छ।"

सीआरएस र मेरी स्टोप्सले बजारमा ल्याएका र ड्युरेक्स, कामसूत्र, मुड्स, ब्ल्याक कोब्रालगायत कन्डम डब्लूएचओ मापदण्डका हुन्। यद्यपि, बजारमा मापदण्ड पूरा गरेका त परै जाओस्, उत्पादक/वितरकको नाम, दर्ता नम्बर, ब्याच नम्बर, उत्पादन मिति र म्याद पुग्ने मितिसमेत उल्लेख नभएका कन्डम छ्यापछ्याप्ती पाइन्छन्। उपभोक्ता संरक्षण ऐन २०५४ अनुसार उल्लेखित जानकारीका अतिरत्तिm सेवा वा वस्तु प्रयोग गर्ने तरकिा र त्यसका प्रभावसमेत स्पष्ट रूपमा उल्लेख भएको हुनुपर्छ। उपभोक्ता संरक्षण नियमावली २०५६ अनुसार आयात गरएिका वस्तुका हकमा आयातकर्ता स्वयंले यी जानकारी लेबलमा खुलाउनुपर्छ। तर, बजारमा स्पष्ट जानकारी नभएका कन्डम खुलेआम बिक्री भइरहेका छन्।

आयातित ब्रान्डका अधिकांश कन्डमको मूल्य निर्धारण आयातकर्ता र विक्रेताबीचको 'सम्झौता'का आधारमा हुने भएकाले विक्रेता आफैँले एकतर्फी मूल्य निर्धारण गर्दै आएका छन्। राष्ट्रिय उपभोक्ता मञ्चका महासचिव तथा अधिवक्ता पुष्पराम पौड्याल मूल्य तोक्ने अधिकार उत्पादक वा आयातकर्ताबाहेक अरूलाई नहुने भएकाले विक्रेता आफैँले मूल्य तोक्नु कानुनको प्रतिकूल हुने बताउँछन्। भन्छन्, "उत्पादकको नाम, ठेगाना, उत्पादन मिति, एक्सपायरी मिति आदि उल्लेख नगरे वा नगरएिका वस्तु विक्रीवितरण गरे दुई वर्ष कैद, ३० हजार जरविाना वा दुवै सजाय हुन सक्छ।"

त्यसो त यौनसुख बढ्ने र महिला यौनसाथीलाई 'मल्टिपल अग्र्याजम' दिने विज्ञापनसहित डटेड, विभिन्न रंग र बास्नासहितका कन्डम पनि बजारमा नआएका होइनन्। ड्युरेक्स, कामसूत्र, ओकामोटोलगायतका ब्रान्डमा उपलब्ध यी कन्डम प्याकेटकै तीन सय रुपियाँसम्म पर्छ। तर, विज्ञहरू कन्डम विशेषकै प्रयोगले प्रचार गरएिझैँ चरमसुख प्राप्त हुने वा यौनमा आनन्द थपिने कुरा पूर्णतया सत्य नभएको बताउँछन्। "यो व्यक्तिपिच्छे फरक पर्ने कुरा हो," डा पोखरेल भन्छन्, "कसैमा सन्तुष्टि बढेको छ भने कसैमा कन्डमकै कारण यौनेच्छा नै हराउने समस्या देखिएको छ।"

यौन सन्तुष्टिमा मनोवैज्ञानिक कारणले बढी भूमिका खेल्ने जानकारहरू बताउँछन्। यौन साथी एकअर्काप्रति विश्वस्त र भावना बुझ्ने छन् भने बाहिरी संसाधनको त्यति महत्त्व नहुने उनीहरूको भनाइ छ। अहिलेसम्मका विभिन्न अनुसन्धानले पनि उपयुक्त यौन आसनको र प्राक्क्रीडा नै चरमसुखका लागि महत्त्वपूर्ण हुने निष्कर्ष निकालेका छन्।

दुई दशकदेखि लागूऔषध तथा एचआईभी/एड्सका नियन्त्रका क्षेत्रमा काम गररिहेको संस्था लाल्सका वरिष्ठ परामर्शदाता शोभन शर्मा पनि कहिल्यै नसुनिएका ब्रान्डका कन्डमका कारण बेलाबेला समस्या देखिएको सुनाउँछन्। भन्छन्, "त्यस्ता कन्डम यौनसम्पर्कका बेला फुटेको गुनासो गर्ने झन्डै १० प्रतिशतको हाराहारीमा छन्।"

विभिन्न अनुसन्धानका अनुसार राम्रै ब्रान्डका भए पनि धेरै पुराना वा राम्रोसँग भण्डारण नगरएिका वा उपयुक्त ढंगले प्याकिङ् नगरएिका कन्डम यौनक्रीडाका समयमा फुट्ने सम्भावना बढी हुन्छ। संयुक्त राज्य अमेरकिामा सन् १९७६ देखि नै कन्डमलाई 'क्लास टू मेडिकल डिभाइस'का रूपमा 'फुड, ड्रग एन्ड कस्मेटिक ऐन' अन्तर्गत यूएस फुड एन्ड ड्रग एडमिनिस्ट्रेसन -एफडीए)ले नियमन गर्दै आएको छ। कुनै पनि कन्डम उत्पादकले नयाँ उत्पादनपूर्व वा पुरानो उत्पादनमा परविर्तन ल्याउनुपरेमा एफडीएबाट अनिवार्य स्वीकृति लिनुर्छ।

सन् १८८७ बाट त एफडीएले कन्डमको पुनःप्याकिङ् र आयातमा समेत नियमन गर्दै आएको छ। अमेरकिी प्रशासनले लिएको यस नीतिले पनि के स्पष्ट पार्छ भने प्रजनन, प्रसूति तथा यौनजन्य रोगहरूसँग प्रत्यक्ष सरोकार राख्ने कन्डम निकै संवेदनशील वस्तु हो। तर, नेपालमा नियामक निकाय नभएकाले पनि मनोमानी र ठगी बढेको सरोकारवालाहरू बताउँछन्। कन्डम किन्नै लाज मान्ने र किन्नेहरू पनि मोलमोलाइ नगर्ने भएकाले व्यापारीहरूले अनुचित लाभ उठाउँदै आएका छन्। "यो सरासर ठगी हो," पौडेल भन्छन्, "लागत मूल्यको २० प्रतिशतभन्दा बढी मुनाफा खानु कालोबजारी हो।"

First Appeared in NEPAL MAGAZINE

No comments:

Post a Comment