नेपाली फुटबल रेफ्रीविहीन बन्ने जोखिम
यस वर्षको सहिद स्मारक 'ए' डिभिजन लिगको समय रेफ्री कमिटीका अध्यक्ष सुरेन्द्र सिख्राकारलाई रेफ्रीको व्यवस्था मिलाउन हम्मेहम्मे पर्यो। कारण थियो, नेपाली फुटबलमा रेफ्रीको सीमित संख्या। 'ए' डिभिजन लिगमा मात्र कुल १ सय ४८ वटा खेल भए। र, ती सबै खेल केवल ६ जना रेफ्रीको भरमा सञ्चालन गर्नुपर्यो। सिख्राकार भन्छन्, "अहिलेसम्म कुनै समस्या परेको छैन। तर, अप्ठ्यारो भने परिरहेकै छ।"
लगभग सबै 'ए' डिभिजन फुटबल क्लबहरूको वाषिर्क बजेट एक करोड रुपियाँभन्दा माथि छ। 'ए' डिभिजन लिगमा पुरस्कार राशि नै झन्डैझन्डै डेढ करोड रुपियाँको हाराहारीमा पुगिसकेको छ। तर, मैदानका न्यायाधीश अर्थात् रेफ्री पेसातर्फ आकर्षण पटक्कै बढेको छैन। बरू भएका रेफ्रीसमेत अन्य पेसातर्फ मोडिँदै छन्। नेपाली फुटबलमा रेफ्रीहरूको कुल संख्याले यही कुरालाई इंगित गर्छ।
नेपालमा अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा)द्वारा मान्यताप्राप्त फिफा रेफ्री अर्थात् 'इन्टरनेसनल रेफ्री' जम्मा चार जना छन् भने एसिस्टेन्ट रेफ्री ६ जना। मुलुकभरि सञ्चालन हुने ठूला-साना सबै प्रतियोगिताहरू यिनै १० रेफ्रीमै निर्भर हुन्छ। यिनीहरू वर्षैभरि व्यस्त रहन्छन्। रेफ्रीको यो संख्या फिफाले नेपालका लागि तोकिदिएको कोटा हो। यो संख्या यसभन्दा बढाउन सकिँदैन। अझ राष्ट्रिय फुटबलमा महत्त्वपूर्ण योगदान रहने नेसनल रेफ्रीहरूको संख्या यसभन्दा अत्यासलाग्दो छ। वर्षभरि हुने लगभग सबै फुटबलका खेलमा फिफा रेफ्रीलाई सघाउने नेसनल रेफ्रीको संख्या केवल तीन मात्र छ। महिला फुटबलतर्फका नेपालकी एक मात्र फिफा रेफ्री कल्पना शर्मा हुन् भने महिला एसिस्टेन्स रेफ्रीको संख्या तीन छ।
नेपालमा रेफ्रीहरूको अवस्था बुझ्न फिफा रेफ्री सुदिश पाण्डेलाई मात्रै हेरे पनि पुग्छ। दुई वर्षदेखि फिफा रेफ्री रहेका उनी मैदानमा उत्रिन थालेको झन्डै एक दशक हुन लागेको छ। तर, अखिल नेपाल फुटबल संघ (एन्फा)बाट उनले मासिक रूपमा बुझ्ने पारश्रिमिक भर्खरै 'डेब्यु' गरेका फुटबल खेलाडीको भन्दा पनि न्यून छ, चार हजार रुपियाँ। अझ दुई वर्षअघिसम्म त दुई हजार रुपियाँ मात्रै थियो। नेसनल रेफ्रीले त त्यो पनि पाउँदैनन्। नेपालले अन्तर्राष्ट्रिय फुटबलमा भाग लिन थालेको मात्र चार दशकभन्दा बढी भइसकेको छ। यसबीचमा खेलाडीको पारश्रिमिक र पुरस्कार राशिमा समेत आकाश-पातालको अन्तर आइसकेको छ। डेब्यु गरेका खेलाडीले मासिक १५-१६ हजार रुपियाँको हाराहारीमा पारश्रिमिक पाउँछन्। स्टार वा राष्ट्रिय टोलीमा परेकाहरूले त ५० हजार रुपियाँभन्दा बढी बुझ्छन्। पाण्डे भन्छन्, "फिफा रेफ्री भइसक्दा पनि नियमित तालिमकै खर्च धान्न गाह्रो छ।"
रेफ्रीहरूले ९० मिनेटको एउटा खेल खेलाएको जम्मा १ हजार ३ सय रुपियाँ बुझ्छन् भने एसिस्टेन्ट रेफ्रीले एक हजार रुपियाँ। जिल्लामा खेल हुँदा रेफ्री र सहायक रेफ्री दुवैले दैनिक १ हजार ७ सय रुपियाँ भत्ता पाउँछन्। जबकि, एसियाली फुटबल महासंघ (एएफसी) स्तरका खेलहरूमा रेफ्रीले एक दिनमा एक सय अमेरिकी डलर बुझ्छन्। अझ अन्तर्राष्ट्रिय खेलमा पारश्रिमिक रकम पाँच सय डलर प्रतिदिन छ। यति मात्र होइन, खेल हुनुभन्दा दुई दिनअघि र एक दिनपछिको अतिरिक्त पारश्रिमिकसमेत दिइन्छ उनीहरूलाई। यात्रा अवधिको बिमा रकमसमेत आयोजकले नै बेहोर्छ। एक जना रेफ्रीले वर्षभरिमा ५०-६० वटा खेल खेलाउँछन्।
रेफ्रीका रूपमा मैदानमा निर्णायकको भूमिका निभाउनु त्यति सजिलो छैन। पूरा ९० मिनेट कुद्न सक्ने शारीरकि 'फिटनेस' त आफ्नै ठाउँमा छ, तीक्ष्ण दृष्टि र तत्काल निर्णय लिने क्षमता रेफ्रीमा हुनैपर्छ। हरेक खेलअघि र पछि 'बिपि|mङ्'मा उपस्थित हुनुपर्छ। हरेक खेलको रिपोर्ट बनाएर बुझाउनुपर्छ। क्षेत्रीय स्तरका साना खेल खेलाएको अनुभव पर्याप्त हुँदै गएपछि मात्र राष्ट्रिय रेफ्री हुन पाइन्छ। यसका लागि पनि समय र ऊर्जा उत्तिकै खर्च गरेका हुन्छन् रेफ्रीहरूले। तर, यति हुँदाहुँदै पनि उनीहरूले बेलाबेला गलत निर्णयको आरोप खेप्नुपर्छ। त्यसैले त यो पेसालाई 'थ्यांकलेस जब' (जस नपाउने काम) भन्न रुचाउँछन्, लगभग एक दशक रेफ्रीका रूपमा काम गरसिकेका फिफा रेफ्री, लव खत्री। भन्छन्, "रेफ्री बनेर जीविकोपार्जन गरौँला भनेर त सोच्नैपर्दैन, यस्तोमा युवा पुस्ता आकषिर्त हुने कुरा पनि भएन।"
मैदानमा तत्काल निर्णय दिनुपर्ने हुन्छ रेफ्रीहरूले। सानो निर्णयले पनि नतिजामा उथलपुथल ल्याउन सक्छ। मानवीय त्रुटिलाई कम गर्न प्रविधिको प्रयोग बढिरहेको छ। तर, राष्ट्रिय फुटबल त परै जाओस्, मुलुकमै अन्तर्राष्ट्रिय स्तरका खेल हुँदासमेत न्यूनतम प्रविधिको समेत प्रयोग हुन सकेको छैन। विशेष गरी रेफ्री, एसिस्टेन्ट रेफ्री र फोर्थ अफिसियलका बीच सञ्चार प्रणाली र एसिस्टेन्ट रेफ्रीले झन्डा उठाउँदा रेफ्रीलाई जानकारी गराउने बिप फ्ल्यागको प्रयोग अति आवश्यक भइसकेको छ, नेपालको सन्दर्भमा पनि। र, यो त्यति महँगो प्रविधि पनि होइन। तर, यस्ता कुरामा एन्फाले ध्यान नपुर्याएको गुनासो गर्छन्, सिख्राकार।
वर्षभरिमा एउटा लिग र ६ वटा नकआउट खेल हुन्छन्। जिल्ला र क्षेत्रीय स्तरका आयोजनाहरूसमेत गर्दा लगभग पाँच सय खेल सञ्चालन हुन्छन्। तर, उही सीमित रेफ्रीले नै पूर्वदेखि पश्चिमसम्म दौडादौड गर्नुपर्ने अवस्था छ। खासमा एउटा खेलपछि रेफ्रीले कम्तीमा पनि ४८ घन्टा आराम पाउनुपर्छ। तर, रेफ्री अभावका कारण लिगका बेलासमेत आजको भोलि नै खेल खेलाउनुपर्ने बाध्यता छ। सिख्राकार भन्छन्, "आखिर मानिस नै हुन्, धपेडीले निर्णय क्षमतामा पनि केही न केही त असर परिहाल्छ।" उनको भनाइमा कम्तीमा पनि २०-२५ जना राष्ट्रिय रेफ्री र त्यसको दोब्बर संख्यामा सहायक रेफ्रीहरू तयार पार्न सके मात्र सहज ढंगले खेल सञ्चालन गर्न सकिन्छ।
प्रश्न चुनौती बनेर तेर्सिएको छ, रेफ्रीहरूको अवस्था यस्तै रहिरहे अबको पाँच वर्षमा नेपाली फुटबलको हालत कस्तो होला ? के रेफ्रीविहीन फुटबल सम्भव छ ? फिफा रेफ्री पाण्डे भन्छन्, "यही अवस्था रहिरहे नेपाली फुटबलमा भयावह अवस्था सिर्जना हुनेछ।"
अन्तर्राष्ट्रिय खेलमा नेपाली रेफ्री
नेपाली फुटबलप्रेमीहरूले बारम्बार जिज्ञासा राख्छन्, आखिर नेपाली रेफ्री अन्तर्राष्ट्रिय मैदानमा किन देखिन्नन् ? हुन पनि, अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपाली रेफ्रीको सहभागिता मुलुककै लागि गर्वको कुरा हो। तर, फिफा रेफ्री भए पनि अन्तर्राष्ट्रिय खेल खेलाउनका लागि भने 'इलिट रेफ्री' हुनुपर्ने नियम फिफाको छ। इलिट रेफ्री हुनका लागि बेग्लै मापदण्ड छन्। अलग्गै कोर्स गरी विभिन्न चरणका परीक्षामा उत्रिनुपर्छ। अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा सहभागी हुन पाउने भएकाले विदेश भ्रमणका अवसर प्रशस्तै पाउँछन्, यस्ता रेफ्रीले। आम्दानी पनि राम्रो हुन्छ। तर, ३५ वर्षको उमेरभित्रै इलिट रेफ्री भइसक्नुपर्छ, ४५ वर्षको उमेरमा रेफ्री 'रिटायर्ड' हुन्छन्। सन् २००६ सम्म इलिट रेफ्रीका रूपमा ज्ञानुराजा श्रेष्ठ, सुरेन्द्र सिख्राकार, श्याम लामा र विनोद केसीले केही अन्तर्राष्ट्रिय खेल खेलाएका थिए। पछि विभिन्न कारणले त्यसले निरन्तरता पाउन सकेन। पछिल्लोपटक भने सुदिश पाण्डे र पदमबहादुर भुजेल नेपालका तर्फबाट इलिट रेफ्री छानिने सम्भावना रहेको रेफ्री कमिटीका अध्यक्ष सुरेन्द्र सिख्राकार सुनाउँछन्। यी दुईले मलेसियाबाट एएफसीको रेफ्री कोर्समा ग्रयाजुएसन गरेका छन्। यसका लागि एएफसीको टोली आएर परीक्षासमेत लिएर गइसकेको छ। सिख्राकार भन्छन्, "नेपाली रेफ्री पनि अरूभन्दा कम छैनन्, अवसर पाए राष्ट्रलाई चिनाउन उनीहरूको योगदान उल्लेख्य हुन सक्छ।"
First Appeared in NEPAL MAGAZINE
No comments:
Post a Comment