Wednesday, February 18, 2015

खोइ कहाँ आयो लोकतन्त्र ?


हामी पुनः एकपटक प्रजातन्त्र दिवस मनाइरहेका छौँ । १ सय ४ वर्षे राणा शासनको अन्त्य हुँदा जनतामा जुन किसिमको उत्साहको सञ्चार भएको थियो, त्यो उत्साहलाई त्यसपछिका कुनै पनि व्यवस्थाले पूरा गर्न सकेनन् । त्यसमाथि लोकतन्त्रको स्थापनापछि त जनताका इच्छा तथा आंकाक्षा जादू गरेझैं पूरा हुने आशा देखाएका थिए दलहरूले । त्यही भएर नेपाली जनताले राजनीतिक दलहरूबाट पटकपटक धोका पाउँदै आएका भए पनि ०६२/०६३ को जनआन्दोलनमा पुनः एकपटक दलहरूलाई मौका दिए र जीउज्यान नभनी पुनः एकपटक आन्दोलनमा होमिए । तर जनआन्दोलनको बलबाट मुलुकमा लोकतन्त्र स्थापना भएको पनि हेर्दाहेर्दै ६ वर्ष भइसक्दा पनि जनताका समस्या ज्यूँका त्यूँ रहेका छन् । राजनीतिक आवरणमा रहनेहरूले भने लोकतन्त्रको खुबै फाइदा उठाएका छन्, तर जनताका लागि जुन जोगी आए पनि कानै चिरेका भनेझैं भएको छ, लोकतन्त्र । त्यही भएर त जनता प्रश्न उठाउन थालेका छन्, ‘खोइ कहाँ आयो लोकतन्त्र ?’

सडकमा लोकतन्त्रको पक्षमा नारा घन्काउँदै हिँडेका जनताको एउटै आशा थियो, लोकतन्त्र स्थापनापछि देशले काँचुली फेर्नेछ । शान्ति र अमनचयनको श्वास फेर्न पाइनेछ । दलहरू सत्ता र स्वार्थको लुछाचुँडीमा लाग्ने छैन्न् । भ्रष्टाचार, अनियमितता र कुशासन निर्मूल हुनेछ । खोजे र रोजेजस्तो शासन व्यवस्था आउनेछ । त्यहीअनुसार छिटै संविधान बन्नेछ र राजनीतिक स्थिरता कायम हुनेछ ।
तर संविधान निर्माणका लागि तोकिएको समयमा समेत केही काम नगरी सत्ताको लुछाचुँडीमा लागेका दलहरूले इतिहासमै नभएको कीर्तिमान यही अवधिमा कायम गरे । एक वर्षभन्दा कम समयमा सरकार फेरिरहने कीर्तिमान होस् वा जम्बो मन्त्रिमण्डल, वा संविधान बनाउन गएका सभासद्हरूको जगहँसाउने क्रियाकलाप नै किन नहोस्, यी सबैले जनताले दलहरूबाट आफूहरू बारम्बार बेवकूफ बनाइएको अनुभव गरेका छन् ।
२००७ सालमा प्रजातन्त्र आउँदा अब के के न हुन्छ भनेर आश गरेका जनताले अहिले गणतन्त्रकै अनुभव गर्न पाएका छन् । तर प्रजातन्त्र आउँदा यस्तो होला भन्ने सोचेका जनता गणतन्त्र आउँदासमेत आफूहरूमाथि दुःखमाथि दुःख थपिँदै जाँदा आक्रोशित छन् । शाही शासन जस्तो अहिले राजालाई गाली गर्न डराउनुपर्ने अवस्था छैन । सडकमा जुन बेला मन लाग्यो त्यही बेला उफ्रदै बन्द हड्ताल गर्न पाइन्छ । सरकारलाई गाली गर्न पनि पाइन्छ । बाटो छेक्न पनि पाइन्छ । लोकतन्त्र र गणतन्त्र झन्डैझन्डै छुटतन्त्रमा परिणत भएको छ ।
छुटतन्त्रले अरुलाई मात्रै होइन दलहरूलाई समेत रिझाउन सफल भयो । फलस्वरूप पहिलेका बाचा, कसम र प्रतिबद्धता बिर्सेर नेताहरू सत्ताको लागि मरिहत्ते गर्न थाले । यसबीचमा संविधान निर्माण भन्दा सत्ताको हानथापमै दलहरूले समय धेरै बिताए । पार्टीपार्टी र पार्टीभित्रका संघर्ष बढ्न थाले । लोकतन्त्र स्थापनापछि शान्तिपूर्ण राजनीतिमा आएको माओवादीले समेत जनताको अपेक्षा अनुसार आफूलाई प्रस्तुत गर्न सकेन । अरुलाई सत्तोसराप गाली गरेर नथाक्ने माओवादी अहिले अरुकै हाराहारीमा गिर्यो भनेर धेरैले आलोचना गरिरहेका छन् ।
जनता गणतन्त्र आएर के भो त भनेर प्रश्न गर्न थालेका छन् । महंगी, भ्रष्टाचार, बेरोजगारी, अशान्ति, अराजकता उस्तै छ । पहिले त खानेपानीको मात्र अभाव थियो । अहिले त बिजुली र ग्याँसको समेत अभाव हुन थालेको छ । मुलुकमा प्रजातन्त्र मात्रै होइन, गणतन्त्रै पाइएको छ, तर भान्सामा भात पकाउन ग्यास पाइएको छैन । भाषण गर्ने थरीथरीका दल र नेता पाइएको छ, तर रासनको लागि राम्रोसित दाल र भात पाइएको छैन । गणतन्त्र छ, दल र नेताहरू छन् । तर दैनिक गुजारा चलाउन चाहिने साधारण चिजको समेत अभाव छ । संविधानको आशा गर्दै जनता सधैं धान फलाउँछन् । नेतासित बारम्बार शान्ति र संविधान माग्छन् । तर नेताहरू म्याद र दिन मात्रै माग्छन् । जनतालाई मागे अनुसार दिनुपर्ने ठाउँमा पुगेका नेताहरू उल्टै आफूआफूमै माग गरेर दिन गुजार्छन् ।
यसबीचमा दलहरूले केही नगरेका होइनन् । संसारलाई नै आश्चर्य चकित बनाउने गरी देशमा ठूल्ठूला उपलब्धि हासिल भएका छन् । राजतन्त्रको विदाई र गणतन्त्र स्थापना, माओवादी जनयुद्धको अन्त्य, शान्ति प्रक्रियामा महत्वपूर्ण प्रगति देखेर दुनियाँले जिब्रो टोकेकै हुन् । तर परिवर्तन संस्थागत गर्न ढिलो हुँदा र साधारण जनताको जीवनशैली तथा दैनिकीमा खासै परिवर्तनको अनुभूति नहुँदा अझै आशंका र अन्योल बढाएको छ । जनताले परिवर्तनको वास्तविक अनुभूति गर्न पाएका छैन्न् ।
जनताको भावना अनुसारको नयाँ संविधान बनाउनु र राजनीतिक स्थिरता कायम गर्नु नै दलहरूको अहिलेको चुनौति हो । राजनीतिक स्थिरता, सुशासन, भ्रष्टाचारको अन्त्य र विकास निर्माणको कामले गति लिन सकेमा लोकतन्त्र र गणतन्त्र आएको वास्तविक अनुभूति हुन्छ । प्रजातन्त्र दिवस मनाइरहँदा हाम्रा राजनीतिक दल र नेताहरूले यो कुरा ख्याल गरेका होलान् त ?

No comments:

Post a Comment