Wednesday, February 4, 2015

युवा जिज्ञासा, कलामका समाधान (Book Revew of 'Forge Your Future' by APJ Abdul Kalam)

भारतका ११औँ राष्ट्रपति एपीजे अब्दुल कलाम अहिले पनि उत्तिकै लोकपि्रय छन् । कलाम युवा पुस्तासँग अन्तरक्रिया गर्न औधी रुचाउँछन् । फेसबुक पेजमा झन्डै १९ लाख लाइक, ट्वीटरमा ६ लाख ४८ हजार फलोअर्स नयाँ पुस्तामाझ उनको लोकपि्रयता दसार् उने सूचक हुन् । सार्वजनिक समारोहमा पनि उनी युवासँगै घुलमिल हुन्छन् । यही कारण, उनलाई दैनिक तीन सयभन्दा बढी इमेल आउँदा रहेछन्, जसमा युवा मनमा प्रतिध्वनित विविध जिज्ञासा समेटिएका हुन्छन् । अनि, कलाम भ्याएसम्म सबैलाई उत्तर दिन्छन्  । सफलताका सूत्र सुझाउँछन् । १५ वर्षयता कलामले १ करोड ६० लाखभन्दा बढी युवासँग अन्तरक्रिया गरेछन् । विविध जिज्ञासाका समाधानका उपाय आफ्ना अनुभवका आधारमा बाँडेछन् । तिनै उत्कण्ठा अनि समाधानका सूत्रलाई कलामले पुस्तकको रूप  दिएका छन्, फोर्ज योर फ्युचर ।

कलाम आफूलाई प्राप्त हुने जिज्ञासालाई इन्दे्रनीका विविध रंगका रूपमा व्याख्या गर्छन् । हरेक रंग एक अर्काभन्दा पृथक् तर सबैको मूल प्रकाश एउटै । युवा आत्माका आवाज, सत्यनिष्ठता, आकांक्षा र जिज्ञासालाई इन्द्रेनीको रंगको स्रोत प्रकाश मानेका छन्  कलामले । कलाम चाहन्छन्, यो प्रकाशको पुञ्जले अझ व्यापक रूप लेओस्, ताकि अरू पनि हजारौँ युवा मन र मस्तिष्क चम्किन सकून् । उनीहरूले सफलताको उचाइ चुमून् । आफ्ना अघि जति पनि समाधान तेर्सिन्छन्, तिनलाई कलाम 'समस्या'भन्दा 'प्रक्रिया'  भन्न रुचाउँछन् । अर्थात्, हामीले जीवनका घटनाक्रमलाई जसरी सम्हालिरहेका छौँ, त्यसको प्रक्रियालाई परिवर्तन गर्ने हो भने समस्याप्रतिको दृष्टिकोण बदलिन्छ र अन्ततः समाधान हात लाग्छ । समाधानका उपायभन्दा समस्याकै वरिवरि बढी केन्दि्रत हुँदा अवस्था  झन् झन् जटिल हुँदै जाने कलामको ठहर छ । त्यसैले त कलाम अन्तरक्रियाका क्रममा समस्या होइन, समाधानका उपायमा बढी केन्दि्रत हुन उत्प्रेरित गर्छन् ।


पुस्तकमा त्यस्ता ३२ वटा प्रश्न छन्, जसले लामो कालखण्डमा राखिएका अधिकांश जिज्ञासाको प्रतिनिधित्व गर्छन् । सबै प्रश्नलाई पाँचवटा खण्डमा विभाजन गरिएको छ, 'पि्रपेयरिङ फर सक्सेस', 'क्रियटिङ ए बेटर सोसाइटी', 'इम्पावरिङ वुमन', 'बिल्डिङ ए स्ट्रङ  इन्डिया' र 'कम्पिटिङ विथ द वल्र्ड' ।  र, हरेक प्रश्नका उत्तर कलामका व्यक्तिगत अनुभव, अध्ययन र राजनीतिक एवं आध्यात्मिक व्यक्तित्वसँगको अन्तरक्रियामा आधारित भएर प्रस्तुत गरिएका छन्, अत्यन्त सरलीकृत ढंगमा । जस्तो ः एक युवा कलामसँग  आफूमा आत्मविश्वासको कमी भएको, संसारमा रम्न नसकेको र छिट्टै हरेस खाने र आफ्नो काम अरूले गरिदेओस् भन्ने भावना मनमा जागृत भइरहेको बारे जिज्ञासा राख्छन् । कलाम ती युवालाई आफ्नो क्षमतालाई पहिचान गर्दै आत्मसम्मानलाई बढावा दिन  सुझाव दिन्छन् । आफ्ना खुबीलाई पहिचान गर्दै क्षमता बढाउँदा आत्मविश्वास बढ्ने र आत्मसम्मानप्रति संवेदनशील हुँदा अरूको मुख ताक्ने प्रवृत्तिमा कमी आउने कलाम सुझाउँछन् । जसका लागि चारवटा खुड्किला कलामले सुझाएका छन्, लक्ष्य निर्धारण गर्ने,  लक्ष्यतर्फ पाइला चाल्ने, गतिवान् बन्ने र मिहिनेत गर्न नछाड्ने ।

'इम्पावरिङ वुमन' खण्डमा महिलाका विविध समस्या समेटिएका छन् । भारत मात्र होइन, दक्षिण एसियामै महिला सशक्तीकरण प्रमुख चुनौती हो । जनसंख्याको आधा हिस्साभन्दा बढी महिला भए पनि घरगृहस्थीमै समय व्यतीत हुँदा आर्थिक एवं सामाजिक  सुधारमा व्यवधान खडा भएको कलामको मत छ । स्त्रीभु्रणको हत्या, महिलाहिंसा, शिक्षा-स्वास्थ्यमा महिला पहुँचको कमीबारे पनि कलामले चिन्ता व्यक्त गरेका छन् । मानवजातिको विकास र समृद्धिका लागि पुरुष र नारीबीच द्वन्द्व होइन, सहकार्य हुनुपर्ने  कलामको निष्कर्ष छ । भन्छन्, 'जसरी पक्षी एउटा मात्र पखेटाले मात्र उड्न सक्दैन, त्यसै गरी नारी र पुरुषबीचको सन्तुलनबिना प्रकृति जीवन्त रहन सक्दैन ।'

नकारात्मक विचार र पराजयवादी सोचलाई कलाम 'क्यान्सर सेल'को संज्ञा दिन्छन् । हरेक व्यक्तिले आफूभित्रको 'क्यान्सर' हटाउँदै जाने हो भने समाजमा नाटकीय परिवर्तन देखिने उनको कथन छ । अन्धकारलाई अँध्यारोले चिर्न सक्दैन । त्यसका लागि थोरै भए  पनि प्रकाश नै चाहिन्छ । नकारात्मकतालाई प्राथमिकता दिँदा वा अझ बढी शक्ति खर्चेर तिनको सामना गर्न खोज्दा समस्या झन् गुजुल्टिँदै जान्छ । बुद्ध, जेसस क्राइस्ट र प्रोफेट मोहम्मदको उदाहरण दिँदै कलाम भन्छन्, 'द्वेषको सामना प्रेमले गर्न जान्ने हो भने  समस्या आफैँ सुल्झिन्छन् ।'

कलाम तमिलनाडुको रामेश्वरम्मा निकै गरिब परिवारमा जन्मेका हुन् । घरको समस्या टार्न उनले सानै उमेरमा काम गर्न थाले । परिवारलाई आर्थिक रूपमा सघाउन स्कुल सकिएपछि उनी पत्रिका बाँड्ने काम गर्थे । त्यसैले कक्षामा उनी औसत विद्यार्थी थिए ।  पछि भौतिकशास्त्रको अध्ययन गरे । त्यसबाट सन्तुष्ट नभएपछि एरोस्पेस इन्जिनियरिङ पढे । भारतीय वायुसेनाको पाइलट बन्ने आकांक्षा पाले । फाइटर पाइलटका लागि आठ जना छानिँदा उनी नवौँ नम्बरमा परे । अन्ततः लगन र दृढ आत्मविश्वासका कारण  भूउपग्रहदेखि न्युक्लियर साइन्ससम्मका अनुसन्धानमा विश्वमै ख्याति कमाए । भन्छन्, 'तमिलनाडुको एउटा गरिब परिवारमा जन्मेर अनेक व्यवधानको सामना गर्दै मैले सफलता हासिल गरेँ भने अरू युवाले किन नसक्ने ?'

पुस्तकको रुचिकर पक्ष के हो भने यसको शीर्षक अनलाइन भोटिङबाट तय गरिएको थियो । कलामले पाँचवटा सम्भावित नाम १२ दिनसम्म भोटिङका लागि राखेका थिए । जसमा ४१ हजार ६ सय ७५ जनाले फोर्ज योर फ्युचरलाई चुनेका थिए । विश्वकै एक  सफल व्यक्तित्वका संघर्ष र अनुभवका विविध पक्ष नयाँ पिँढीका लागि उपयोगी हुनेमा दुईमत छैन ।

Published in Nepal Magazine on 11 January 2015

No comments:

Post a Comment