Thursday, February 6, 2014

झोलको सय, छोक्राको दुई सय



स्केच : रवीन्द्र मानन्धर
रसुवाको धुन्चेमा भेटिए, एक व्यवसायी। उनी लालीगुराँस, स्याउ र स्ट्रबेरीको जुस र रक्सी उत्पादन गरेर बेच्दा रहेछन्। गफिँदै जाँदा मेरा नजर ती उत्पादनका मूल्यमा परे। कुरा के भने शुद्ध भनिएको जुसको चाहिँ प्रतिबोतल एक सय रुपियाँ। जुस निकालेपछि रहने छोक्राबाट बन्ने रक्सीको चाहिँ प्रतिबोतल दुई सय रुपियाँ।

"छोक्राबाट बन्ने रक्सी झन् महँगो ?" मेरो प्रश्न।

"यो नशाको मूल्य हो सर, केबाट बन्यो त्यसको के औचित्य ?" उनको जवाफ।

"छोक्रा त थोरै निस्किएला, पसलमा त जुस र रक्सी बराबरी छ नि ?" मैले सोधेँ।

"जुसमा पानीबाहेक केही मिसाउन पाइएन, रक्सीमा त अरू मसला पनि मिसाइन्छन् नि !" उनको प्रतिक्रिया।

"अनि, त्यो स्ट्रबेरीको रक्सी किन रातो ?" फेरि सोधेँ।

"स्ट्रबेरी कस्तो रंगको हुन्छ त ?" उनी थोरै झिँजिए।

"कच्चा पदार्थ जस्तो रंगको भए पनि रक्सी त रंगविहीन हुनुपर्ने होइन ?" मैले कुरा समातेँ।

उनको मुहारमा आक्रोशका हल्का लहर देखा परे। झोकिँदै भने, "सर, तपाईं पिउने मान्छे होइन रहेछ, पिउनेले यति धेरै सोच्दा पनि सोच्दैन, सोध्दा पनि सोध्दैन।"

Part of Notebook by UPAHAR JUNG SHAH published in Nepal Magazine on 2 February 2014

No comments:

Post a Comment