Thursday, February 6, 2014

कुमारीको कहर



स्केच : रवीन्द्र मानन्धर
हनुमानढोकालगायत सम्पदा क्षेत्रमा अनुमतिबिना भइरहेका कन्सर्टका बारेमा रिपोर्टिङ् गर्नु थियो। सम्बन्धित सरकारी अधिकारी भने लाचारी मात्र देखाउने, क्लब र दलका प्रतिनिधिका बारेमा झन् बोल्नै नचाहने। आफूले खोजेजस्तो 'क्लु' नपाउँदा रन्थनिँदै थिएँ। हनुमानढोकामा कन्सर्टले सबैभन्दा बढी असर कुमारीघरलाई परेको छ भन्ने जानकारी थियो। सरासर त्यहीँ गएँ। भर्‍याङ उक्लिएँ। कुमारीको आसन खाली रहेछ। अरू त्यही आसनलाई ढोग्दै गइरहेका थिए। त्यसै छेउमै उभिइरहेँ, वस्तुस्थिति बुझ्न। मलाई देखेर बाहिर घाम तापिरहेकी कुमारी आफ्नो आसनमा आइन्।


छेवैमा एक महिला थिइन्। यहाँ कुमारीको रेखदेख कसले गर्नुहुन्छ भन्दै बोल्न खोजेँ। उनले मानिनन्। बरू भित्रबाट एक पुरुष 'फुर्सद छैन' भन्दै निस्किए। मैले आफ्नो प्रयोजन बताएँ, कन्सर्टको होहल्लाले कुमारीलाई केही असर परेको छ कि भनेर सोधेँ। उनी एक्कासि भावविह्वल भइहाले। बस्नलाई चकटी दिए। गुनासाको पोकै खोले। कुमारीको पढाइमा समेत असर परेको सुनाए। उनी रहेछन् कुमारीको रेखदेखमा रहेका महेन्द्र शाक्य। भने, "बाबु ! कसैले वास्ता नगरेको कुरा उठाउन लाग्नुभएछ, हेर्दै जानूस्, तपाईंलाई केही न केही राम्रो हुन्छ, हुन्छ।"

संयोग नै मान्नुपर्ला, त्यसै दिन बाहुबलका भरमा जबरजस्ती भइरहेका कन्सर्टका बारेमा यस्ता 'क्लु'हरू भटेँ, जसले स्टोरीमा १ सय ८० डिग्रीको परविर्तन ल्याइदियो। शाक्यले भनेजस्तै व्यक्तिगत जीवनमा चमत्कार होला, नहोला। तर, त्यस स्टोरी लेखेबापत साथीभाइ र सहकर्मीबाट पाएको स्याबासी सम्झँदा पनि मन प्रफुल्ल हुन्छ।



Part of Notebook by UPAHAR JUNG SHAH published in Nepal Magazine on 2 February 2014

No comments:

Post a Comment